PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मतीमा सरकार परिवर्तनको एजेन्डा बोकेर बानियाँ काठमाडौंमा, एकीकृत समाजवादीका मन्त्री भन्छन् : हामीलाई थाहा छैन



निशा गुरुङ

वाग्मतीमा सरकार परिवर्तनको एजेन्डा बोकेर बानियाँ काठमाडौंमा, एकीकृत समाजवादीका मन्त्री भन्छन् : हामीलाई थाहा छैन

हेटौंडा : वाग्मती प्रदेशमा सरकार परिवर्तनका लागि रस्साकस्सी सुरु भएको छ। सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले ६-६ महिनाका लागि सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए। पाण्डेले ६ महिना पद सम्हाल्ने र त्यसपछि आधा कार्यकाल कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।

गठबन्धनले पाण्डेलाई सरकारको नेतृत्व गर्न दिएको म्याद सकिसकेको छ। कात्तिक ११ गते राजेन्द्र पाण्डे मुख्यमन्त्री  बनेका थिए। सहमति पालना हुने हो भने अब वाग्मती सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको हो। तर, एकीकृत समाजवादी अहिले नै सरकार परिवर्तन गर्ने 'मुड'मा छैन। स्थानीय तह निर्वाचन र बजेटसम्मका लागि सरकारलाई समय दिएको भन्दै अहिले नेपाली कांग्रेस र नेकपा माओवादी सरकार परिवर्तन हुनै पर्ने अडानमा छ। वाग्मतीमा हिजो नै बजेट पारित भएको थियो। बजेट पारित भएपछि कांग्रेस सांसदहरुले सरकार परिवर्तनमा जोड दिएका थिए।

प्रदेशमा सरकार परिवर्तनको लागि रस्साकस्सी बढेको बेला प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ भने मुख्यमन्त्री फेर्न दबाब दिन बिहीवार नै काठमाडौं गएका छन्। उनले त्यहाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मुख्यमन्त्री फेर्न दबाब दिने बताइएको छ।

बानियाँले प्रदेशमा केही दिनमा नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी उनले गरेका  हुन्।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनबिच भएको सहमति पालना नगरेको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरुले आक्रोश व्यक्त गरिरहेका छन्। पाण्डेले सहमति अनुसार सहजै पद नछोड्ने देखिएपछि उनीविरुद्ध माओवादी केन्द्र र कांग्रेसले हस्ताक्षर संकलन गरेका थिए।

बानियाँले भने सरकारको परिवर्तन गर्न आवश्यक प्रक्रिया मिलाउनुपर्ने भएकाले नै हस्ताक्षर संकलन गरिएको बताए।

‘सरकार परिवर्तनको प्रक्रिया अब सुरु भयो। प्रक्रिया मिलाउनै हस्ताक्षर संकलन गरिएको हो। संकलित हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएपछि सरकार नेतृत्व परिवर्तन हुन्छ,’ उनले भने।

हस्ताक्षर संकलनको विषयमा मुख्यमन्त्री पाण्डेसमेत जानकार रहेको दाबी पनि बानियाँले गरे। तर, एकीकृत समाजवादीका सांसदहरुले भने हस्ताक्षर संकलनबारे आफूहरु जानकार नै नभएको बताएका छन्। एकीकृत समाजवादीका मन्त्री नै सरकार परिवर्तनको प्रक्रिया सुरु हुनेबारे आफूहरु अनभिज्ञ भएको बताउँछन्।

एकीकृत समाजवादीबाट प्रदेश सरकारमा मन्त्री रहेका कृषि तथा पशुपन्छि विकास मन्त्री बसुन्धरा हुमागाई हस्ताक्षर संकलन र सरकार परिवर्तनबारे आफूहरु जानकार नभएको बताए।

‘यसबारेमा केही थाहा छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell