.jpg)
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन्।
निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीसँग भर्चुअल छलफलका क्रममा श्रेष्ठले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका हुन्।
उनले भने, ‘अदालतको सम्मान गर्दै राष्ट्रको गौरवको आयोजना यो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। यो कामलाई हामी अगाडि बढाउँछौँ।’
निजगढका विषयमा सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आइसकेको भन्दै उनले त्यसमा विमानस्थल निर्माण कार्य रोक्न नभनिएको बताए।
‘सर्वोच्चको पूर्ण पाठ आइसकेको छ। यो पूर्णपाठले निजगढमा विमानस्थल बन्न रोक्ने काम भएको छैन,’ उनले भने।
गत जेठ १२ मा सरकारले निजगढबारे हालसम्म गरेको सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश सुनाएको थियो। सो आदेश सुनाएको एक महिनापछि बुधबार पूर्णपाठ सार्वजनिक भएसँगै निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला भएको छ। वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गरी, प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा विमानस्थल निर्माण गर्न सकिने विकल्प पूर्णपाठमा दिइएको छ। रासस