
भारत र इंग्ल्यान्डमा जारी टेस्ट क्रिकेटमा भारतीय टोलीको कप्तानी जसप्रीत बुमराहलाई दिइएको छ। १ जुलाईदेखि जारी टेस्ट क्रिकेटमा रोहित शर्माको सट्टामा बुमराहलाई कप्तानीको जिम्मेवारी दिइएको हो।
रोहित शर्मालाई बुधवार कोरोना भाइरस संक्रमण देखिएको थियो। रोहित दोस्रोपटक कोरोनाबाट संक्रमित भएका हुन्।
बुमराह भारतीय टोलीका तेज बलर हुन्। करिब ३५ वर्षपछि भारतीय टोलीका तेज बलरलाई टेस्ट क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिइएको हो। यसअघि तेज बलर कपिल देवले मात्र टेस्ट क्रिकेटमा भारतीय टोलीको कप्तानी गर्ने अवसर पाएका थिए। कप्तानका रुपमा कपिलको प्रदर्शन औसत थियो। सन्१९८७ पछि कुनै पनि तेज बलरलाई यौ मौका दिइएको थिएन।
बुमराहले रोहित कोरोना संक्रमण मुक्त नभएसम्ममात्रै कप्तानी गर्नेछन्। भारतीय टोलीमा भविष्यको कप्तानका रुपमा केएल राहुल र ऋषभ पन्तलाई तयार गरिँदैछ। हाल केएल राहलु फिट नभएका कारण नै अहिले बुमराहले अवसर पाएका हुन्।
कप्तानीको जिम्मेवारी पाएका बुमराहले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धका रुपमा व्याख्या गरेका छन्।