
काठमाडौं : मधेश प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपदका घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपदका घटनामा १८२ जना पुरुष, १०८ जना महिला र १४३ जना बालबालिकाको ज्यान गएको हो। सो अवधिमा भएका विपद्का घटनामा परेर २१० जना महिला, १३७ जना पुरुष र ६१ जना बालबालिका घाइते भएका थिए। यस्तै एकजना पुरुष, दुईजना महिला र पाँचजना बालबालिका बेपत्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।
सो अवधिमा मधेशका जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ जना पुरुष, ८४ जना महिला र ३० जना बालबालिकाको मृत्यु भएको छ भने सात हजार ९४५ जना जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ जना चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिए। यस क्रममा २० करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको छ।
यस्तै सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ जना भारतीय र ४० जना नेपाली नागरिक पक्राउ परेका थिए। उनीहरुबाट १५ थान हतियार बरामद् भएको प्रवक्ता कार्कीले बताए। प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ।
पछिल्लो समय लागुऔषध कारोबारीलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेशका विभिन्न जिल्लाबाट गाजा तीन हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेश ५१ किलो, हिरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित एक हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ।
सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट ४० करोड १४ लाख २६ हजार रुपैयाँ बराबरको अवैध समानसहित १९५ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए। नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिएका २७३ सवारीसाधनसहित ५६ जना र अवैध काठ तस्करीमा प्रयोग गरिएका ३६ सवारीसाधनसहित ३१ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको जनाएको छ।