PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भूमाफियासँग लडेर बचाइएको बोडेको कमलपोखरी, जहाँ फूलेको फूल तलेजुलाई चढाइन्छ

भूमाफियासँग लडेर बचाइएको बोडेको कमलपोखरी, जहाँ फूलेको फूल तलेजुलाई चढाइन्छ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : बोडेमा रहेको सांस्कृति महत्वको पलेस्वाँ पुखु (कमलपोखरी)लाई निजी बनाइ २०४२ सालमा बिक्री गरियो। कान्छी पोडेनीको नाममा पोखरीलाई दर्ता गराइ खरिद बिक्री गरियो। एकपटक होइन पटकपटक। तर, सार्वजनिक पोखरी खरिद बिक्री भए पनि कसैले उपभोग गर्न भने सकेका थिएनन्। स्थानीयले आफ्नो संस्कृतिसँग जोडिएको उक्त पोखरी बचाउन भूमाफियाविरुद्ध प्रतिकार गरिरहे। पोखरी पुर्न प्रयास गर्न आउनेहरुलाई स्थानीयले लखेटे पनि।  पोखरी संरक्षणका लागि उनीहरुले पलेस्वाँ पुखु संरक्षण समिति पनि गठन गरे र पोखरीलाई सार्वजनिक कायम गर्नुपर्नेमाग गर्दै २०६५ सालमा अदालतमा मुद्दा दायर गरे।

२०७५ सालमा जिल्ला अदालत भक्तपुरले कमलपोखरीलाई सार्वजनिक कायम गर्ने फैसला गरेका थिए। सो फैसलाको विरुद्ध प्रतिवादीहरुले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। केही दिन अघिमात्रै उच्च अदालत पाटनले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो र, पोखरीलाई सार्वजनिक कायम गर्ने निर्णय गर्‍यो।

सो पोखरीमा फुलेको कमलको फूल बोडेको लायकू दरबारस्थित तलेजु भवानीलाई चढाउने परम्परा रहेको छ। यस्तै, नीलबराही देवगणलाई समेत सोही पोखरीमा फूल्ने कमलको फूल चढाउने गरिएको स्थानीय बताउँछन्। उच्च अदालतको फैसलासँगै अब यो परम्परा निरन्तर जारी नै रहने स्थानीयको विश्वासको छ।

मध्यपु थिमि नगरपालिकाको वडा नम्बर ८ मा रहेको कमलपोखरी करिब १५ रोपनी ९ आना क्षेत्रफलमा फैलिएको छ। यसअघिको नगर सरकारले पनि तीन वर्ष लगायतार बजेट छुट्याएर पोखरी संरक्षणको काम गरेको थियो। नगरपालिकामा नयाँ नगर प्रमुख सुरेन्द्र श्रेष्ठ आएपछि पनि पोखरीका लागि बजेट छुटाइएको छ।

अहिले कमलपोखरीको एक कुनामा कमलको फूल हेर्न पुग्ने मान्छेको घुँइचो लाग्ने गर्छ। बिहान र साँझ डुल्न पुग्नेका लागि सो पोखरी नयाँ गन्तव्य बनेको छ।

वडा नम्बर ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले नगरपालिकाले पोखरीको ब्युटिफिकेशनको कामलाई निरन्तरता दिइरहेको बताए। साथै, पोखरी वरिपरि फल्चा निर्माण कार्य पनि अघि बढाइने उनले जानकारी दिए। हाल आन्तरिक पर्यटकका लागि बोडेको कमलपोखरी नयाँ गन्तव्य बनिरहेको भन्दै उनले यसलाई पर्यटकीय हब बनाउन वडा र नगरपालिकाले काम गर्ने बताए।

‘यहाँका सबै स्थानीयको साथ भएकैले आज कमलपोखरी जीवन्त छ। नत्र काठमाडौंको कमलपोखरीमा जस्तो कम्लेक्स ठडिन्थ्यो। पोखरीलाई अब नयाँ पर्यटकीय केन्द्र बनाउनेछौं। अहिले पनि धेरै मानिस यहाँ आइरहेका छन्। मान्दिर, फल्चा निर्माण गर्ने कुरा भइरहेको छ,’ उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell