PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एकनाथ शिंदे : रिक्सा चालकदेखि आफ्नै पार्टीका प्रमुखलाई 'कू' गर्दै महाराष्ट्रको मुख्यमन्त्रीसम्म



पहिलोपोस्ट

एकनाथ शिंदे : रिक्सा चालकदेखि आफ्नै पार्टीका प्रमुखलाई 'कू' गर्दै महाराष्ट्रको मुख्यमन्त्रीसम्म
फोटो : NDTV

भारतको महाराष्ट्रमा राजनीतिक टकरावकाबीच शिवसेनाका नेता एकनाथ शिंदे नयाँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्। २०१९ मा सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल नगरेपछि यो तीन वर्षमा तीन वटा सरकार बनिसकेको छ। 

पछिल्लोपटक शिवसेनाका बागी शिंदेले आफ्नै पार्टीका प्रमुख उद्धव ठाकरेलाई प्रतिस्थापन गरेका हुन्। आफ्नै पार्टीबाट असहयोग ब्यहोरेका ठाकरेले बुधवार राजिनामा दिएका थिए। सर्वोच्च अदालतले बुहमत परीक्षणका अनुमति दिएपछि बहुमत हात नपार्ने देखेर ठाकरेले राजीनामा दिएका थिए। 

साता लामो राजनीतिक खिचातानीपछि ठाकरेले राजिनामा दिएका हुन्। उनको राजीनामासँगै भाजपाले सरकार बनाउने चर्चाकाबीच शिवसेनाकै शिंदेले भाजपाकै सहयोगमा मुख्यमन्त्रीको सपथ लिए। 

२०१९ मा मुख्यमन्त्री बनेका ठाकरेको सत्ता उनकै क्याबिनेटका शिंदेमाथि इन्फोर्समेन्ट डाइरेक्टोरेटले अनुसन्धान थालेपछि धरापमा पर्दै गयो। आफूमाथि अनुसन्धान सुरु हुन थालेपछि शिंदे भाजपाको शरणमा पुगेका हुन्। उनीसँग तीन विकल्प थिए- भाजपासँग गठबन्धन, राजनीतिक अस्तित्व धरापमा राख्दै शिवसेनामै रहने वा पक्राउ पर्ने। यी मध्ये उत्तम विकल्पको रुपमा भाजपासँगको गठबन्धनलाई रोजे। 

शिवसेनाका वरिष्ठ नेता रहेका शिंदेलाई शहरी विकास विभागको जिम्मा दिइएको थियो। जुन विभाग सामान्यतया मुख्यमन्त्रीले राख्दै आएका छन्। उनको सम्पत्तिमाथि अनुसन्धान सुरु हुँदा उनले भाजपाको साथ रोजे। उनको साथमा रहेका अधिकांश सांसदहरु माथि पनि अनुसन्धान सुरु भएको थियो। 

को हुन शिंदे? 
शिवसेनाको वरिष्ठ नेता रहेका शिंदे चारपटक महाराष्ट्रको सांसद भइसकेका छन्। २००४ यता भएका निर्वाचनहरुमा उनले निरन्तर रुपमा जित हात पार्दै आएका छन्। मराठा समुदायका उनी राजनीतिमा आउनु अगाडि अटो रिक्सा चालउँथे।

सन् २००० मा उनका ११ वर्षीय छोरा र ७ वर्षीया छोरीको डुंगा दुर्घटनामा परी मृत्यु भएपछि डिप्रेसनको सिकार भएका थिए।  उनलाई आनन्द डिगेले राजनीतिक रुपमा अगाडि ल्याएका थिए। तत्कालीन शिवसेना प्रमुख डिगेकै पहलमा उनी मजदुर नेता हुँदै अगाडि बढेका हुन्।

उनलाई दिगेले नै ठाने जिल्लाको शाखा प्रमुखको भूमिकामा ल्याएका थिए। डिगेको मृत्युपछि २००१ उत्तराधिकारीको रुपमा शिंदे अगाडि आए। उनका एकमात्र जीवित छोरा डा. श्रीकान्त सिन्दे अर्थोपेडिक सर्जन हुन्। उनी २०१४ को निर्वाचनमा लोकसभा सदस्यमा निर्वाचित भए। २०१९ मा पनि उनी पुन: निर्वाचित भए। 

उनी सन् १९९७ मा थाने म्युनिसिपल कर्पोरेसनको कर्पोरेटर भएका थिए। २००१ मा थाने म्युनिसिपल कर्पोरेसनको नेतामा निर्वाचित भए। २००४ मा संसद छिरेका उनी सन् २०१४ मा महाराष्ट्रको विपक्षी दलको नेता भए। 

उनले महाराष्ट्रमा विभिन्न समयमा मन्त्री बन्दै आएका थिए।  उनै शिंदे आफ्नै पार्टीका प्रमुख ठाकरेलाई 'कू' गर्दै महाराष्ट्रको मुख्यमन्त्री बनेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell