PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बीआरआई कार्यान्वयनबारे चिनियाँ चासो : नेपाल मौन रहँदा चीन थप सशंकित



विधुर ढकाल

बीआरआई कार्यान्वयनबारे चिनियाँ चासो : नेपाल मौन रहँदा चीन थप सशंकित

काठमाडौं : चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरई) कार्यान्वयनमा नेपालको प्रतिबद्धतालाई स्मरण गराएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को अन्तराष्ट्रिय विभागका मन्त्री लिउ जियान्चाओले नेपालले बीआरआई कार्यान्वयनमा जनाएको प्रतिबद्धता कार्यान्वयनबारे चासो व्यक्त गरेका हुन्।

बिहीवार परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल वार्ताका क्रममा उनले बीआरआई कार्यान्वयनका लागि नेपालको राजनीतिक नेतृत्वले गरेको प्रतिबद्धता स्मरण गराउँदै दुई देशबीचको सम्बन्धको विषयमा चर्चा गरेको विभागले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

मन्त्री लिउले दुई देशले एक अर्कालाई सँधै समान व्यवहार, मैत्री साझेदारी, पारस्परिक लाभ तथा 'विन-विनको सिद्धान्त' अनुसार एक अर्कालाई सहयोग गर्दै आएको बताएका थिए। उनले २०१९ मा राष्ट्रपतिसमेत रहेका सीपीसीका महासचिव सि चिनफिङको ऐतिहासिक नेपाल भ्रमणले दुई देशबीचको मैत्री साझेदारीमा नयाँ अध्याय थपेको बताएका थिए। 

उनले नेपाली कांग्रेससहित नेपालका सबै राजनीतिक दलबीच सीपीसीले मैत्रीपूर्ण सम्बन्ध राख्दै आएकोसमेत बताएका थिए। उनले बीआरआई सम्बन्धी विभिन्न च्यालनमार्फत छलफल चल्दै आएको स्मरण गराइको बताउँदै चिनियाँ विदेश विभागले दुबै पक्षबीच साझेदारीका विषयमा छलफल भएको जनाएको छ। साथै सीपीसीको २० औं कंग्रेस यसै वर्ष हुने भन्दै कंग्रेस सम्पन्न भएपछि यस विषयमा नेपाललाईसमेत जानकारी दिने बताएका थिए। 

यसअघि चिनियाँ नेता लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भर्चुअल कुराकानी गर्दै बीआरआई सम्झौता कार्यान्वयनका विषयमा चासो राखेका थिए। 

विशेषगरी नेपालमा अमेरिकी सहायता निकाय मिलेनियम च्यालेन्स कर्पोरेसन, एमसीसीसँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट नेपाल संसदबाट अनुमोदन भएपछि चीन सशंकित छ। एमसीसी पारित भएसँगै चिनियाँ विशेमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए। भ्रमणका क्रममा बीआरआई कार्यान्वयनका लागि परियोजनामा सहमति हुने अपेक्षा लिइए पनि नेपालको उदासिनताका कारण हुन सकेको थिएन। नेपालको अनिच्छाका कारण बीआरआई अगाडि बढ्न नसकेको चीनको पछिल्लो बुझाइ रहेको छ। 

बीआरआई अन्तर्गत नेपालले ९ वटा परियोजना छनोट गरे पनि विदेशमन्त्री वाङको भ्रमणका क्रममा कुनै सहमति हुन नसक्नुलाई नेपालले 'तयारी नपुगेका कारण' बताउँदै आएको छ। 

नेपाल-चीन बीच सन् २०१७ मा बीआरई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। बीआरआई भन्दा पछि हस्ताक्षर भएको एमसीसी संसदबाट अनुमोदन भइ अगाडि बढ्नुले पनि चीन नेपालप्रति सशंकित छ। त्यस्तै नेपाली भूमि प्रयोग गरी चीन विरोधी गतिविधि नहुन भन्नेतर्फ पनि चीन सचेत रहेको छ। पछिल्लो समय अमेरिकाको तिब्बत मामिलासम्बन्धी विशेष निर्देशक नेपाल भ्रमण गरी तिब्बती क्याम्प पुगेकी थिइन्। यसले पनि नेपालप्रति चीनको शंका बढाउँदै लगेको छ। 

भिडियो संवादका क्रममा परराष्ट्रमन्त्री खड्का बीआरआईबारे मौन रहे। सीपीसीको विदेश विभागले जारी गरेको वक्तव्यमा खड्काले बीआरआईबारे कुनै शब्द नबोलेको संकेत गर्छ। अर्कोतिर नेपालको परराष्ट्र मन्त्रालयले भने छलफल गुपचुप नै राखेको छैन।

सामान्य रुपमा सचिव र उपसचिवका भेट र सम्बोधनलाईसमेत सामाजिक सञ्जालमा सार्वजनिक परराष्ट्र मन्त्रालयले मन्त्रीकै छलफलबारे मौन छ। 
छलफलमा मन्त्री खड्काले सीपीसीको १०१ वर्षगाँठको शुभकामना दिँदै सीपीसीको राष्ट्रिय कंग्रेसको सफलताको शुभकामना दिएको उल्लेख छ।

साथै चीनले गरिबी निवारणमा हात पारेको सफलता, प्रावधिक अन्वेषण र कोभिड-१९ विरुद्धको लडाइमा हात पारेको सफलताको प्रशंसा गरेको विभागको वक्तव्यमा उल्लेख छ। साथै उनले नेपालको आर्थिक तथा सामाजिक विभाग र कोभिड-१९ विरुद्धको लडाइमा चीनले पुर्‍याएको महत्त्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका थिए। 

साथै उनले नेपाली कांग्रेस पनि चीनसँग मैत्री सम्बन्ध अगाडि बढाउन चाहेको बताएका थिए। उनले नेपाली भूमिलाई चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता जनाउँदै नेपाल र नेपाली कांग्रेस एक चीन नीति प्रति अडिग रहेको दोहोर्‍याएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell