PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

प्रज्ञान सहकारीमा बचतकर्ताको १७ करोड ९५ लाख हिनामिना, अध्यक्षसहित ८ जना पक्राउ



पहिलोपोस्ट

प्रज्ञान सहकारीमा बचतकर्ताको १७ करोड ९५ लाख हिनामिना, अध्यक्षसहित ८ जना पक्राउ

काठमाडौं : काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १७ करोड ९५ लाख रुपैयाँ हिनामिना गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले अनुसन्धानको क्रममा सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका १२ मा रहेको उक्त सहकारीले बचतकर्ताबाट उठाएको रकम अध्यक्ष लगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गर्ने गरेको देखिएको हो।

प्रहरीले सहकारी अध्यक्ष सहर्जनसहित उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन,लेखा परीक्षक हिमालयराज जोशी र दिपक राना मगरलाई नियन्त्रणमा लिएको हो।

सहकारीले बचतकर्ताको १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ हिनामिना गरेको प्रहरीको अनुसन्धान खुलेको ब्युरोका एसपी श्याम महतोले जानकारी दिए। सहकारी हिनामिना भएपछि सहकारी विभाग र चन्द्रागिरि नगरपालिकाले पनि यसको अनुसन्धान गरेको थियो। तर नगरपालिका र विभागबाट अनुसन्धान नटुङ्गिएपछि प्रहरीमा पुगेको हो।

बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो।

तामाङ अहिले पुर्पक्षको लागि हिरासतमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell