PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सर्वाधिक वर्षात् हुने कास्कीमा कस्तो छ विपद् व्यवस्थापनको तयारी?



रिना थापा

सर्वाधिक वर्षात् हुने कास्कीमा कस्तो छ विपद् व्यवस्थापनको तयारी?
फोटोः जिल्ला प्रहरी कार्यालय कास्की

पोखराः देशकै सर्वाधिक वर्षात हुने स्थान हो कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले। लुम्लेसँगै आसपासका क्षेत्र पोखरा महानगरपालिका पनि अत्यधिक वर्षा हुने स्थानमा पर्छ।

अघिल्लो वर्षमात्र जिल्लामा बाढी र पहिरोले अनुमानित एक अर्ब  २३ करोड ५७ लाख ५७ हजार ४ सय रुपैयाँको क्षति पुर्‍यायो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७७/०७८ मा जिल्लाभित्र अविरल वर्षा, बाढी र पहिरोले ३ महिला र २ पुरुष गरी पाँच जनाले ज्यान गुमाए भने ६ जना घाइते भएका थिए। गत वर्ष वर्षाकै कारण १५ परिवार घरविहीन हुन पुगेका थिए भने ५ वटा हाइड्रोपावरमा क्षति पुगेको थियो।

यो वर्ष मनसुनको सुरुवातमै पोखरा महानगरपालिका वडा -२५ सुइखेत डुबानमा पर्‍यो। असार १० गते रातिको अविरल वर्षाका कारण सुइखेतका करिब १८० बढी परिवार डुबानमा परे। स्थानीयलाई तत्काल स्थान्तरण गर्दा मानवीय क्षति भने हुन पाएन।

पोखरा २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार डुबानमा परेका ३ घरमा पूर्ण क्षति पुगेको छ। तीनै परिवारलाई वडाले नै व्यवस्थापन गरेर राखेको छ। डुबानबाट प्रभावित भएका केही परिवार घर फर्किइसकेका छन्। केही वडा र आफन्तकोमा छन्।

'अब कोही फर्किँदै हुनुहुन्छ कोही फर्किँनु भएको छैन कोहीलाई अर्को ठाउँमा व्यवस्थित गरेर राखेका छौँ। डुबानमा परेका कति चाहिँ आफन्तकोमा जानुभएको छ। उहाँहरुको फर्किने क्रम जारी छ,' वडाध्यक्ष तिमिल्सिनाले बताए।

प्रहरी कार्यालय कास्कीका अनुसार २०७८/०७९ अहिलेसम्म बाढी र पहिरोले जिल्लामा ३ महिला, २ पुरुष र २ बालकगरि ७ जनाले ज्यान गुमाइसकेका छन्। यस्तै १ महिला, ५ पुरुष, १ बालिका र १ बालकगरि ८ जना बेपत्ता छन्। जिल्लाभित्र १२८ महिला, ११४ पुरुष, ३६ बालक र २८ बालिकागरि ३०६ जना जोखिममा छन्। यता बाढी र पहिरोकै कारण ७० महिला, ८३ पुरुष, ८ बालक र १० बालिका गरि १ सय ७१ जना विस्थापित भइसकेका छन्। यस्तै ८८ घरमा पूर्ण क्षति  र ९८ घर जोखिममा छन्। यस्तै १ स्कुल पूर्णरुपमा क्षति भएको छ भने २ जोखिममा छन्। १ हाइड्रोपावरमा पूर्ण क्षति पुगेको छ भने ३ मा आशिंक क्षति भएको छ।

के छ कास्कीमा तयारी?

जिल्ला प्रशासन कार्यालय कास्कीले विपद् व्यवस्थापनको आन्तरिक तयारीलाई प्राथमिकतामा राखेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले बताए। रिजालका अनुसार जिल्लाको विपद् व्यवस्थापन समितिले कार्ययोजना बनाएको छ।

'जिल्लाको तयारी छ हामीसँग रेस्क्यूका लागि १७९ जनाको जनशक्ति तयारी छ २४ घण्टा नै। जिल्ला विपद् व्यवस्थापन समितिले कार्ययोजना बनाएको छ,' रिजालले भने, 'हाम्रो स्थानीय विपद् व्यवस्थापन समिति र जिल्लाको समिति सबै क्रियाशील छन्। हिजो मात्र हामीले बैठक बोलाएका थियौं सबै पालिका प्रमुख र सरोकारवालाहरुलाई।'

तत्काल विपद् व्यवस्थापनका लागि ७० जना सेना, ६९ प्रहरी, ६ जना गोताखोर, ४० जना सशस्त्र प्रहरी गरेर १७९ जना जनशक्ति तयारी अवस्थामा रहेको उनले बताए।

'प्रशासनबाट नहुनका लागि न्यूनीकरण गर्ने प्रयास र भइसकेका लागि राहत र उद्दारका लागि मनसुनजन्य विपद प्रतिकार्य योजना बनाएका छौं। हामीसँग खोलाहरुमा डुब्ने अवस्थामा सशस्त्र प्रहरीका ६ जना गोताखोर २४ घण्टा अलर्ट अवस्थामा हुनुहुन्छ,' उनले भने ।

रिजालले स्थानीय तहसँग विपद् व्यवस्थापनका लागि समन्वय गरेर तयारी अवस्थामा रहेको बताए पनि पोखरा महानगरको भने पर्याप्त तयारी देखिँदैन। अघिल्लो आर्थिक वर्षमा महानगरले विपद् व्यवस्थापनका लागि जम्मा एक करोड छुट्टाएको थियो। जुन रकम समेत सबै विपद् व्यवस्थापनमा खर्च हुन नसकेर रकमान्तर गरियो। यस वर्षका लागि महानगरले विपद् व्यवस्थापनका लागि नीति तथा कार्यक्रममा समेटेको छ। महानगरको रातो किताब भने आइसकेको छैन। महानगरले वडा ८ का वडाध्यक्ष रुद्रनाथ बरालको संयोजकत्वमा विपद् व्यवस्थापन समिति गठन गरेको छ। समिति गठन गरे पनि समितिको नियमवाली नबन्दा कसरी काम गर्नेबारे बराल नै अन्योलमा देखिन्छन्।

'समिति गठन भएर नियमवाली बन्दै छ क्यारे। तत्काल हेर्ने समितिले, मेयरसाबले पठाएसी जाने निरीक्षण गर्ने भन्ने कुरा छ तत्कालका लागि,' बरालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell