PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अवैध 'सट्टेबाजी'को विज्ञापनमा पारसदेखि सन्दीपसम्मको फोटो प्रयोग : खेलाडी अनविज्ञ, क्यानको तयारी के?



मुकुन्द घिमिरे

अवैध 'सट्टेबाजी'को विज्ञापनमा पारसदेखि सन्दीपसम्मको फोटो प्रयोग : खेलाडी अनविज्ञ, क्यानको तयारी के?

काठमाडौं: 'मैले त बेट राखेँ, तपाईँले नि?

फेसबुक पेजमा वा कुनै पनि सामाजिक सञ्जालमा यस्तो लेखिएको पोस्ट देख्नुभएको छ? वा अरू कसैबाट तपाईँलाई यसबारे जानकारी पाउनुभएको छ? पछिल्लो समय  यस्ता पोस्टहरू सामाजिक सञ्जालमा देखिन थालेका छन्।

ती सूचनाहरुमा एक हजार रुपैयाँ लगानी गरे दुई हजार रुपैयाँ ग्यारेन्टी पाइन्छ भन्दै मानिसलाई 'बेटिङ' गर्न प्रेरित गरिएको छ। अनि तपाईँलाई बेटिङमा अभिप्रेरित गर्ने तपाईंले चिन्नुभएका चिरपरिचित अनुहार नै हुन्छन्। नेपाली खेल जगतमा 'सेलिब्रेटी' छवि बनाएर खेलाडीहरूको फोटो प्रयोग गरेर सट्टेबाजी गर्न प्रेरित गरिएको देखिन्छ।

नेपालमा बेटिङलाई अवैध मानिएको छ। बेटिङ गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिएर कारबाहीसमेत गर्छ। नेपालमा एक्स् बेट एपमार्फत् बेटिङ भइरहेको समाचार बाहिरिएका छन्। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको विज्ञापन बोर्डले डिजिटल प्लाटफर्ममार्फत् जुवामा लगानी भइरहेकोसम्बन्धी विज्ञापन तत्काल रोक्न निर्देशन दिएको थियो।

यो कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएको भन्दै तत्काल नरोके कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसहित बोर्डले विज्ञप्ति जारी गरेको थियो। तर सरकारी विज्ञप्ति सेलाउन नपाउँदै अनलाइनमा बेटिङ गर्ने प्रेरित गर्ने विज्ञापन छरपस्ट देखिन थालेका छन्। समाजमा रोलमोडल बनेकाहरूलाई नै प्रयोग गरेर विज्ञापन गरेपछि त्यसमा आकर्षण नहुने कुरै भएन।

बेटिङ गराउने समूहले पारस खड्का, सन्दीप लामिछाने, शक्ति गौचन, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामीजस्ता सक्रिय र सन्न्यास लिइसकेका खेलाडीको फोटो प्रयोग गरी 'मैले त बेट राखेँ, तपाईँले नि?' भन्ने आशयमा विज्ञापन गरिरहेका छन्। तर विज्ञापनमा 'मोडलिङ' गरेकाहरू भने यसबारे अनविज्ञ देखिन्छन्।

पूर्व क्रिकेटर शक्ति गौचन आफ्नो तस्बिर त्यसरी प्रयोगबारे कुनै अनुमति नै नलिइएको बताउँछन्। खेलबाट रिटायर लाइफ बिताइरहेका उनी आफ्नोभन्दा खेलिरहेका क्रिकेटरको तस्बिरको प्रयोग गरिएको देख्दा चिन्तित सुनिए।

'यो कम्पनी के हो? कुन कम्पनी हो? को सँग कन्ट्र्याक्ट हो? हामीले त मानहानीभन्दा पनि धेरै फेकको पराकाष्ठा देखियो,'

उनको प्रश्न थियो, 'हामीले गर्न सकिएला?' अब के गर्ने भन्ने विषयमा अन्योलमा छन् गौचन।

'केही आइडिया छैन। प्रहरीमै जानुपर्छ होला। मैले 'म गर्दै छु' भनेर लेखेको छ फोटोको तल। हामीलाई नराम्रो हुन्छ,' उनले भने, 'अझ अहिले खेलिरहेका खेलाडीको पनि फोटो प्रयोग गरिएको छ। कसैले मेरो फोटो नसोधी प्रयोग गर्न पाउँदैन। म कानुनी परामर्श सल्लाह लिएर अघि बढ्छु। म यसबारे थप बुझ्ने प्रयास गर्छु।'

अझ उक्त विज्ञापनमा नेपाल सरकारको निशान छापदेखि नेपाल क्रिकेट सङ्घ (क्यान) को लोगो र खेलाडीको तस्बिर पनि अनधिकृत रूपमा प्रयोग गरिएको छ। शक्ति गौचनजस्तै क्यान पनि यस घटनामा बेखबर छ। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पनि यस विषयमा थप कुरा बुझेर काम कारबाही अघि बढाउने बताए।

'हामी तुरुन्त बन्द गर्नका लागि पहल सुरु गर्छौँ,' उनले भने।

बेटिङ त गैरकानुनी नै भयो। अझ रोलमोडलका फोटो अनधिकृत प्रयोग, कुनै संस्थाको लोगोको अनधिकृत प्रयोग र सरकारी निशान छापसम्मको प्रयोग गैरकानुनीका कामका लागि प्रयोग भइरहेको प्रस्ट देखिन्छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत 'जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने' उल्लेख गरेको छ। जस अन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद व तीस हजारसम्म जरिवाना हुनेछ भने दोस्रो पटकदेखि एक वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुने उल्लेख छ। त्यसपछि भने पटकैपिच्छे तीन महिना कैद र १० हजार जरिवाना हुने उल्लेख छ।

निशान छाप दुरुपयोगको सन्दर्भमा तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुने व्यवस्था छ। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको विज्ञापन बोर्डले डिजिटल प्लाटफर्ममार्फत् जुवामा लगानी भइरहेकोसम्बन्धी विज्ञापन तत्काल रोक्न निर्देशन दिएको थियो।

'अनलाइन जुवाका घटनाहरुमामा हाम्रो टोलीले अनुसन्धान गरिरहेको छ। यस्ता घटनाका पीडित उजुरी गर्न आउनुभयो भने अनुसन्धानमा थप सजिलो हुन्छ,' सिआइवीका प्रवक्ता एसपी श्याम महतोले भने।

+++

'बेटिङ'को विज्ञापन गर्नु नै गैरकानुनी हो। त्यसमा पनि कलाकार अनुमति नलिई फोटो प्रयोग गर्नु झनै अपराध मानिन्छ। त्यसो त अघि अभिनेत्री प्रियङ्का कार्कीको तस्बिर प्रयोग गरेर क्रिप्टोकरेन्सीको विज्ञापन गरिएपछि उनलाई सोधपुछका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धानको लागि बोलाएको थियो।

सामाजिक सञ्जालमा प्रयोग भएको एक विज्ञापनमा प्रियङ्काले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनी अनुसन्धानमा तानिएकी थिइन्। प्रहरीमा पुगेकी अभिनेत्री कार्कीले आफूले अनुमति नदिइ कसैले फोटोको दुरुपयोग गरेको बताएपछि उनी कारबाहीबाट जोगिएकी थिइन्। तर अहिलेसम्म प्रियङ्काको फोटो दुरुपयोग गरेर विज्ञापन गर्ने भने पक्राउ परेका छैनन्।

त्यस्तै फुटबलमा पनि यो विषय बेलाबेला चर्किरहन्छ। पछिल्लो समय सी डिभिजन लिगमा हाल अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय सदस्यसमेत रहेका रोबिन चन्दले बेटिङ र फिक्सिङको आरोप लगाएका थिए। भलै उनले पछि आफ्नो पोस्ट हटाए। तर, फिक्सिङको अनुसन्धान भएन तर बेटिङ साइटमा बेटिङ भने मज्जाले भएको थियो। त्यसका स्क्रिनसट सामाजिक सञ्जालमा छरपस्ट थिए। त्यस्तै एन्फा निर्वाचनको मुखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नै बेटिङका लागि विदेशी कम्पनी इम्पावर स्पोर्टस एजीसँग सम्झौता गरेको खुलासा भएको थियो। जुन सम्झौता पत्रमा स्पष्ट देखिन्छ। तर, एन्फाले भने त्यसको खण्डन गरेको थियो। एन्फाले बेटिङसँग सम्बन्धित कुनै पनि सम्झौतामा हस्ताक्षर नगरेको दाबी गरेको थियो।

नेपालमा पनि अनलाइन जुवा खेलाएको अभियोगमा प्रहरीले केही मानिसलाई पक्राउ त गर्छ तर यस्ता बेटिङ गर्ने सङ्ख्या बिसबाट उन्नाइस भएको छैन। भारतको सिक्किममा बसेर 'बेटिङ' लगाएको गुन्डा नाइके दावा लामासमेत संलग्नता खुलेको थियो। पाँच वर्षअघि भारतीय अभिनेत्री सन्नी लियोनी अनलाइन जुवा खेलाउन काठमाडौँ बसेको भेटिएको थियो। जितविन डट कम अनलाइनमार्फतै काठमाडौँको र्‍याडिसन होटेलमा जुवा खेलाइरहेको प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा समेत गरिएको थियो। बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरू अनलाइमार्फत‍खेलाइँदै छ। यी अनलाइन खेलहरूमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरू एनसेलका नेपाली नम्बर राखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell