PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

बुटवलको चौराहा - गोलपार्क सडकको बेहाल : वर्षौंदेखि यस्तै सास्ती



रमेश पराजुली

बुटवलको चौराहा - गोलपार्क सडकको बेहाल : वर्षौंदेखि यस्तै सास्ती

बुटवल : चुनाव जितेको भोलि पल्टबाटै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रा अर्याल निर्माणाधिन राजमार्ग चौराहा–गोलपार्क सडक निर्माणलाई गति दिन भन्दै सडकमा देखिएका थिए। सडक चिटिक्क बन्ने भयो भन्दै बुटवलबासीले नगर प्रमुखउपप्रमुखको प्रशंसा गरे। तर सडक निर्माणको काम भने केही दिनमै सुस्तायो।

जसले गर्दा अहिले बुटवलको मुख्य बजार क्षेत्रको सडक बेहाल देखिन्छ। चौरहादेखि अहिले पाल्पारोडसम्मको सडक हिलाम्य र धुलाम्य छ। खाल्डाखुल्डी र खण्डहर सडकमा अहिले ‘वान वे’ बनाएपछि ट्राफिक जामदेखि सडकमै गाडी फस्ने गरेका छन्। वर्षायामको पानीले बजार क्षेत्र पानी पर्दा जलमग्न भएको छ। अनि पैदलयात्री र सवारीसाधनलाई आउजाउमै समस्या हुन्छ।

निर्माण कम्पनीले वषौँदेखि अलपत्र पारेको सडकमा पछिल्लो समय सक्रियता देखाउँदै सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रको काम सुरू त भएको छ। मध्य असारमा बल्ल एकतर्फी सडक सञ्चालन गरी निर्माणको काम भइरहेको छ। सडकको पानी व्यवस्थापनका लागि सडक किनारमा नाली निर्माणको काम पुरा नहुँदै जबर्जस्ती कालोपत्रको तयारी गरिएकाले कालोपत्रका लागि तयार गरिएको संरचनामा समेत भेलले क्षति पुर्‍याएको छ।

व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख दीपककुमार झा ठेकेदार कम्पनीलाई ताकेता गदै पटक–पटक पत्र लेखे पनि निर्माण कार्यले तीव्रता नपाएको बताउँछन्। ‘राजमार्ग चौराहा–गोलपार्क सडकखण्डको अस्पताल लाइन क्षेत्रमा एकतर्फी सडक कालोपत्रका लागि तयारी भएपनि वर्षातको समय भएका कारण कालोपत्र गर्न समस्या हुने देखिएको छ। पानी पर्दा सडक कालोपत्र गर्न मिल्दैन,’ उनले भने। यस्तो समयमा हुने कालोपत्र गुणस्तरीय नहुने उनको भनाइ छ।  चौराहा–गोलपार्क सडकखण्डको करिब ८० प्रतिशत क्षेत्रमा नाली निर्माणको काम सकिएको छ। सर्भिस लेन र नालीमाथि रहेका विद्युत्का पोल, ट्रान्सफर्मर हटाएर भ्याइएको छैन। खानेपानीको काम पनि जारी भएकाले ३० असारमा निमार्ण सम्पन्न हुने अवस्था नभएको झाले बताए।

अस्तव्यस्त सडककै कारण ट्राफिक व्यवस्थापन पनि कष्टकर बन्दै गइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी मोहनबहादुर खाँणले बताए।

‘व्यस्त बजारको मुख्य सडकको अवस्था बेहाल छ। सडक मर्मतको काम सुरु भएपछि बसपार्कदेखि ट्राफिक चोकसम्म एकतर्फी मात्र सडक सञ्चालनमा छ,’ खाँणले भने,‘ट्राफिक प्रहरी दिनभर व्यवस्थापनमा खटिन्छन्, तर एकातिर ट्राफिक संकेतको अभाव अर्कातिर सडकको बेहाल अवस्थाले समस्या निम्त्याएको छ।’

‘सडकभरि खाल्डैखाल्डा छन्। अस्तव्यस्त सडकका खाल्डा छलेर सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको छ । सडकको दूरावस्थाका कारण अहिले सहज यात्रा गराउने अवस्था छैन,’ गाडी चालक अर्जुन थापाले भने। ‘अस्तव्यस्त सडकमा गाडी चलाएको वर्षौँ भयो, बर्खा सुरुभएपछि बल्ल काम सुरु भएको छ। यो सडक तत्काल बन्छ भन्ने नै लाग्दैन यो जनतालाई झुक्याउनलाई मात्र हो,’ अर्का चालक गणेश कार्कीले भने।

हिलो र खाल्डाखुल्डीका कारण सवारीसाधन छिटो बिग्रिने गरेको बस चालक राजु पुनले बताए। ‘सवारीको मर्मत खर्च बढ्दा आम्दानी धेरै घटेको छ। सडकका खाल्डा तर्काएर सवारी चलाउनुपर्छ सडककै कारण दुर्घटनाको जोखिम पनि बढेको छ,’ पुनले भने। यिनी त प्रतिनिधिपात्र मात्रै हुन्। यहाँ दैनिकजसो हजारौं सवारी चालक र यात्रुले यस्तै समस्या भोग्न बाध्य छन्। बिरामी तथा अशक्तहरूलाई बुटवलका सडकमा यात्रा गर्न अझै बढी कष्टकर छ । अन्तिमपटक थपिएको म्यादमा पनि काम सम्पन्न हुने अवस्था नदेखिएपछि सम्बन्धित ठेकेदारलाई ताकेता गरेको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

केन्द्र सरकारको योजना भएपनि नगरपालिकाले समन्वय गरेर जतिसक्दो चाँडो सडक निमार्ण सक्न पहल गरेको उनको भनाइ छ। ‘केन्द्रको बजेट हो भनेर हामी पन्छिन मिल्दैन। बुटवलबासी जनताहरुले भोगेको सास्तीलाई जतिसक्दो छिटो समाधान गर्न हामी लागिरहेका छौँ अबपनि निर्माण कम्पन्नीले बिभिन्न बाहाना बनाउँदै भाग्न पाइदैन,’ उनले भने।

चौराहा–गोलपार्क सडकखण्ड निर्माण सुरु भएको झण्डै ६ वर्ष पुगिसक्यो। राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक विस्तारको काम तीनपटक म्याद थप्दा पनि पुरा भएको छैन। अन्तिमपटकका लागि भन्दै थपिएको म्याद पनि यही असार ३० गते सकिँदैछ।

त्यसैले असार मसान्तसम्म योजना पूरा नहुने निश्चित छ। दैनिक हजारौं सवारीसाधन र लाखौं यात्रु ओहोरदोहोर गर्ने चौराहा–गोलपार्क खण्डको करिब साढे तीन किलोमिटर सडक विस्तारका लागि ठेकेदार कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौंले ठेक्का पाएको थियो।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो। सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर २०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको हो। भ्याट र पिएससमेत गरी ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपैयाँ ३८ पैसामा सडक निर्माणको ठेक्का लागेको थियो। ठेकेदार कम्पनीले हालसम्म १३ करोड भन्दा बढी रकम भुक्तानी लगिसकेको छ।

‘असार ३० सम्म काम सकिने संकेत देखिएको छैन। यो बीचमा म्याद थपको नियमावली संशोधन गराएर म्याद थप हुन पनि सक्छ। यदी ठेक्का रद्द भयो भने नयाँ ठेक्काका लागि प्रक्रिया अघि बढाउनुको बिकल्प छैन,’ इन्जिनियर सविता ज्ञवालीले भनिन्, ‘पछिल्लो पटक मन्त्रिपरिषद्बाटै म्याद थप भएकाले पुनः म्याद थप हुने सम्भावना कम छ। म्याद थपको निवेदनमा पेश गरिने आधारहरुमा भरपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell