PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

'क्लाइमेक्स'मा जसपाभित्रको किचलो, आरोप - प्रत्यारोपको चलिरहेछ जुहारी : 'किचकिचे बाबुराम' र 'स्वेच्छाचारी उपेन्द्र'



प्रकाश भण्डारी

'क्लाइमेक्स'मा जसपाभित्रको किचलो, आरोप - प्रत्यारोपको चलिरहेछ जुहारी : 'किचकिचे बाबुराम' र 'स्वेच्छाचारी उपेन्द्र'

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को विवाद झन् बल्झिन थालेको छ। अध्यक्षहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बिचको किचलो क्लाइमेक्समा पुगेको छ। नेतृत्वलाई लिएर जसपामा विवाद रहँदै आए पनि यतिखेर भने विभाजनको आडैतिर पुगेको दुबै पक्षका नेताहरुले बताएका छन्। यादव स्वेच्छाचारी ढंगले चल्न खोजेको भन्दै भट्टराई पक्ष रुष्ट छ। अर्कोतिर पार्टीका हरेक विषयमा किचलो गर्न खोजेको र अस्थिर प्रवृत्ति नछाडेको भट्टराईमाथि यादव पक्षले आरोप लगाएको छ।

माओवादी, नयाँ शक्ति, समाजवादी नेपाल हुँदै जसपा आइपुगेका बाबुरामलाई फेरि पनि पार्टीबाट अलग हुन खोजेको आरोप लागेको छ। अहिले उनी समाजवादी केन्द्र बनाउन गृहकार्यमा जुटेको उनी  निकट नेताहरुले बताएका छन्। त्यसका  लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न चरणमा छलफल समेत भएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अरु पूर्व माओवादी नेताहरुसँग समेत बाबुरामले समाजवादी केन्द्र बनाउनका लागि छलफल अघि बढाएका छन्। जसलाई पनि उपेन्द्र पक्षीय नेताहरुले पार्टी विभाजनको शंकाका दृष्टिले हेर्ने गरेका छन्। सरकारमा सहभागिताका विषयमा समेत जसपामा विवाद रहँदै आएको छ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेरेपछि दवावमा परेको जसपाले पनि आफ्ना मन्त्री फेर्ने निर्णय गरिसकेको छ। तर, मन्त्री भागबण्डाको विषय पेचिलो बनिरहेको जसपाका नेताहरुले बताएका छन्। जसपामा पनि ६ महिना आलोपालो मन्त्री हुने सहमति छ। तर, क-कसलाई मन्त्री बनाउने भन्नेबारे यादव-भट्टराई पक्षको विवाद बढ्दो छ। जसपा विवादका कारण गठबन्धनमा समेत अलमल हुने गरेको नेताहरु बताउँछन्। अहिले पनि गठबन्धनका बारेमा यादव र भट्टराईको राय अलग अलग हुँदा संकट उत्पन्न हुने गरेको छ। बाबुरामले गठबन्धनको विषयमा केही दिन यता सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई छुट्टै भेट गरेका छन्।

‘उपेन्द्रको एकल नेतृत्व भयो’

बाबुरामले यादवलाई स्वेच्छाचारी हुन खोजेको आरोप लगाएका छन्। सामुहिक र समावेशी प्रणालीको नेतृत्व बनाउने भनिए पनि यादव एकल नेतृत्वमा चलेको जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले बताए।

‘नेतृत्व प्रणालीमा हाम्रो अन्तर पर्‍यो,सामूहिक नेतृत्व भनेको हो। तर, उहाँको एकल नेतृत्व भयो। यसले त सर्वसत्तावादी सोचमा पुग्छ मान्छे। हामीले सामुहिक र समावेशी हुनुपर्‍यो भनेका हौँ,’ श्रेष्ठले भने। पार्टीका निर्णय गर्दा आफू अनुकुलमात्रै गरेको यादवमाथि आरोप छ। यादव जसपालाई राष्ट्रिय पार्टी बनाउन तयार नभएको पनि श्रेष्ठले आरोप लगाए। ‘राष्ट्रिय चरित्रको कि क्षेत्रीय चरित्रको पार्टी बनाउने भन्ने हो। उपेन्द्रजीले भन्दाखेरी राष्ट्रिय पार्टी बनाउने भन्नुहुन्छ तर,सोच र गतिविधि हेर्दा राष्ट्रिय पार्टी बनाउने देखिएन,’ उनले भने।

यादवको कार्यशैलीलाई लिएर बाबुराम असन्तुष्ट छन्। पार्टीमा छलफल नगरी निर्णय भइरहेको भन्दै पटकपटक भट्टराईले असन्तुष्टि जनाएका थिए। तर, यादव पक्षले आफ्नो बहुमत रहेको भन्दै अर्को पक्षलाई बेवास्ता गर्ने गरेको छ।

‘पार्टीमा निर्णय हुँदा लोकतान्त्रिक हुनुपर्‍यो भन्ने हाम्रो माग हो। तर, मैले बोलेपछि बोल्यो म पार्टी अध्यक्ष भन्ने खालको उहाँको,’ श्रेष्ठको भनाइ छ।

‘जे कुरामा पनि निँहु खोज्छन् बाबुराम’

बाबुराम पक्षले उपेन्द्रलाई स्वेच्छाचारी भएको आरोप लगाउँदा यादव पक्षले भने बाबुराममा अस्थिर प्रवृति देखिएको आरोप लगाएको छ। यादव निकट एक नेताले बाबुरामले पार्टीका हरेक निर्णयमा अप्ठेरो पारेको आरोप लगाए।

‘पार्टीका हरेक निर्णयमा निहुँ खोज्ने खालको प्रवृत्ति छ बाबुराममा। त्यसरी पार्टी चल्दैन,’ उनले भने। अर्का केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले पार्टीको विवाद पुरानै भएको बताए। उनले पार्टीमा सहमतिमा अलग हुने कि नहुने भन्नेबारेमा छलफल भइरहेको बताए।

‘पार्टीको विवादले ठूलो रुप लिँदैन होला हेर्दै गरौं न। सहमतिमा छुट्टिने कि के गर्ने भन्ने उपेन्द्र र बाबुरामजीलाई मात्रै थाहा छ,’ राईको भनाइ छ।

पुरानै विवाद बल्झिएपछि तनाव

बाबुराम र वरिष्ठ नेता अशोक राईले यसअघि २०७८ फागुनमा पनि यादवको चर्को आलोचना गर्दै निर्णय प्रक्रियामाथि प्रश्न उठाएका थिए। सामुहिक नेतृत्व प्रणालीमा नचलेकोमा यादवलाई भट्टराई पक्षले त्यतिबेला अल्पमतमा पार्ने प्रयाससमेत गरेको थियो। तर पछि निर्णय गर्दा बाबुराम र वरिष्ठ नेता अशोक राईसमेत सहभागी हुने समझदारी बनेपछि विवाद थामथुम भएको थियो।

स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनमा समेत यादवले एकलौटी गरेको भन्दै भट्टराई पक्षले प्रश्न उठाइरहेको थियो। हाल दुवै पक्षले आआफ्नो कित्तामा बहुमत जुटाउन गृहकार्य गरिरहेका छन्। यादवले पार्टीमा आफ्नो बहुमत भएको दाबी गरिरहेका छन् भने भट्टराईले पार्टीबाट निस्केर गए पनि अन्यथा नहुने बताइरहेको छ। हुन त बाबुरामले नै सधै पार्टीमा विवाद गरेर बसिरहन भन्दा सहमतिमै अलग हुन राम्रो भएको सुझाव यादवलाई दिएका थिए।

‘जतिन्जेल हामी एक ठाउँमा बस्छौं नि उच्च संस्कार देखाऔं। गाली गलौज नगरौँ। बैचारिक बहस गरौँ। भोलि छुट्टिनै पर्ने स्थिति भयो भने मिलाएर छुट्टियौं भनेर बाबुरामले भन्नुभएको हो तर बाबुरामले उपेन्द्रसँग हात मिलाएर छुट्टिउँ भन्नुभयो भन्ने कुरा बाहिर आयो,’ कार्यकारिणी सदस्य श्रेष्ठले भने।

अलग हुने कि बार्गेनिङमा मिल्ने?

२०७२ असोज ९ गते तत्कालीन एकीकृत नेकपा माओवादी छोडेका बाबुरामले २०७३ जेठ ३० गते नयाँ शक्ति घोषणा गरेका थिए। वैकल्पिक राजनीतिको नारा दिएर माओवादी परित्याग गरेर नयाँ शक्ति बनाएका बाबुराम नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक दलको मियो भने बनाउने सकेनन्। नयाँ शक्तिबाट पार नलाग्ने देखिएपछि भट्टराईले २०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरोमसँग एकता गरेका थिए। भट्टराई-यादवको एकतापछि पार्टीको नाम समाजवादी नेपाल रहन गयो।

पूर्व प्रधानन्त्री केपी शर्मा ओलीले २०७७ वैशाखमा समाजवादीमा विभाजन ल्याउन खोजेपछि रातारात २०७७ वैशाख १० गते राति राष्ट्रिय जनता पार्टी (राजपा)सँग समाजवादी एकता भयो र जनता समाजवादी पार्टी घोषणा भएको थियो। तर,जसपा प्रतिनिधि सभा विघटनका बेलामा ओलीको पक्ष/विपक्षमा उभिएपछि विभाजनको डिलमा पुग्यो।

भट्टराई यादव-पक्ष ओलीको विरोध गरेर सडक आन्दोलनमा उत्रिँदा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने सरकारमै सहभागी भएर ओलीलाई सघाएका थिए।  पछि ठाकुर-महतोले पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी बनाएका थिए। त्यतिबेला एउटै खेमामा रहेका भट्टराई-यादव पक्ष अहिले भने छुट्टिने अवस्थामा पुगेका हुन्।

अहिलेको विवादमा यादव एक कदमपछि हटेर सहमति गर्न तयार नभए अलग हुने चेतावनी भट्टराई पक्षको छ भने यादव पक्ष भने बाबुरामको बार्गेनिङ भन्दै उक्त मागबाट पन्छिरहेको छ। त्यसैले भट्टराई पक्षले असाढ २७ र २८ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको पनि औचित्य नभएको र आफूहरुसँगको छलफल बिनै बैठक बोलाएको आरोप लगाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell