PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

विमला वली प्रकरणमा छानबिन समितिको प्रतिवेदनः ‘आवेगमा आएर मर्यादाविपरीतको घटना’



रमेश पराजुली

विमला वली प्रकरणमा छानबिन समितिको प्रतिवेदनः ‘आवेगमा आएर मर्यादाविपरीतको घटना’

बुटवलः लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीले मर्यादाविपरीत अरुको निजी निवासमा प्रवेश गरी गलत गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। आवेगात्‍मक रुपमा कमजोरीका कारण घटना भए पनि अतिरञ्जितको प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ।

वलीले गत जेठ ३१ गते दाङको तुलसीपुरस्थित प्रेमी भनिने एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र छोरीमाथि हातपात गरेकी थिइन्। घटनापछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाउँदै शर्माले राज्यमन्त्री वलीलाई विवादमा पार्न नियोजित जस्तो देखिएको र वलीको कमजोरी समेत भएको बताए।

‘प्रदेश सरकारको माननीय राज्यमन्त्री जस्तो व्यक्ति कुनै विवाहित व्यक्तिको घरमा गई निजको श्रीमती र बालबालिकासँग विवाद गर्नु पदीय मर्यादाअनुसार कमजोरी देखिन्छ,’ शर्माले भने, ‘तर घटनास्थलमा असम्बन्धित व्यक्तिहरूको भीड जम्मा भई अतिरञ्जित गर्ने कार्य भएको हुँदा घटना सुनियोजित हो कि शंका गर्ने आधार देखिन्छ।’

वलीले असार १२ गते घटनाको सहजीकरणका लागि भन्दै राजीनामा दिएको मुख्यमन्त्री केसीले बुधबारको प्रदेश सभामा जानकारी दिएका थिए।

वली नेकपा (एमाले) बाट निर्वाचित सदस्य उत्तरकुमार वलीको निधनपछि उक्त क्षेत्रमा उपनिर्वाचनमा विजयी भएकी थिइन्। उत्तर उनका श्रीमान् थिए। दाङ ३(ख) बाट उनी निर्वाचित भएकी थिइन्।

२०७७ फागुन २३ गते सर्वोच्चको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेपछि विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले एमाले त कहिले माओवादी बनेर पनि चर्चामा आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell