PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

स्कटल्याण्ड सिरिजमा अंकतालिका सुधार्ने अवसर, कप्तान लामिछानेमाथि असहयोगको चर्चा



मुकुन्द घिमिरे

स्कटल्याण्ड सिरिजमा अंकतालिका सुधार्ने अवसर, कप्तान लामिछानेमाथि असहयोगको चर्चा
फोटोहरु : CAN

काठमाडौं: नेपाली क्रिकेट टोली यतिबेला क्यानडामा छ। क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा सिरिजको तयारीमा नेपाली टोली क्यानडा पुगेको हो। क्यानडामा नेपालले स्थानीय क्लबसँग एक खेल खेलिसकेको छ भने दुई खेल क्यानडाको टोलीसँग खेल्ने तालिका छ। त्यस्तै एक खेल स्थानीय क्लबसँग टी २० अभ्यास खेल पनि हुनेछ। त्यसपछि नेपाल स्कटल्याण्ड प्रस्थान गर्नेछ। स्कटल्याण्डमा नेपालले घरेलु टोली र नामिबियासँग समान २ खेल खेल्नेछ।

क्रिकेट विश्वकप लिग २ मा नेपाल पाँचौं स्थानमा छ। सात टोलीबीचको एकदिवसीय साइकलमा ओमनले सबै खेल अर्थात ३६ खेल खेलेर ४४ अंक जोड्दै शीर्षस्थानमा छ। त्यस्तै दोस्रो स्थानमा रहेको टोली हो स्कटल्याण्ड। उसले २० खेलबाट २८ अंक जोड्दा तेस्रो स्थानमा २२ खेलबाट २६ अंक जोडेको यूएईले। चौथो स्थानमा २४ खेलबाट २३ अंक जोडेको अमेरिका छ। १६ खेलबाट १५ अंक जोड्दै नेपाल पाँचौ स्थानमा रहँदा १४ खेलबाट १४ अंक जोडेको नामिबिया छैटौं र सातौं स्थानमा २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी रहेको छ।

'अंकतालिकामा पनि हामी अलिकति पछाडि छौं। अब अगाडि धेरैंभन्दा धेरै खेल जितेर कम्तीमा शीर्ष तीनमा पुग्ने चाहीँ हाम्रो लक्ष्य हो,' नेपाली टोलीको बिदाईका दिन सन्दीप लामिछानेले भनेका थिए, 'यसअघि पनि हामी चारमा चार खेल जित्ने भनेर अमेरिका गएका थियौं। तर जितको नजिक पुगेर पनि पराजय ब्यहोर्नु पर्‍यो। यसलाई फोकस र अवरनेस अलिकतिमात्र बढाउन सके राम्रो हुन्छ।'

प्रतिस्पर्धीको प्रदर्शन

आईसीसीको एकदिवसीय विश्व वरीयतामा नेपाल १९ औं स्थानमा रहँदा नेपालका दुबै प्रतिस्पर्धी त्यसभन्दा अघि छन्। स्कटल्याण्ड १२ औं स्थानमा छ भने नामिबिया १८ औं स्थानमा छ।

स्कटल्याण्डले पछिल्ला पाँच खेलमा तीन जित र दुई हार ब्यहोरेको छ। यसअघि अमेरिकामा सिरिज खेलेको स्कटल्याण्डले यसअघिको खेलमा यूएईसँग पराजय ब्यहोरेको थियो भने त्यसको अघिल्लो खेलमा यूएईलाई नै हराएको थियो। त्यसअघि अमेरिकालाई हराएको स्कटल्याण्डले अघिल्लो खेलमा फेरि अमेरिकासँग पराजय ब्यहोरेको थियो। त्यसअघिको खेलमा ओमनलाई हराएको थियो।

अर्कोतर्फ नामिबियाले अनअफिसियल एकदिवसीयमा हङकङलाई तीनवटा खेलमा लगातार हराएको थियो। पछिल्ला दिनमा भने नामिबियाले घरेलु मैदानमा अमेरिका र जर्सीसँग टी २० सिरिज खेलेको छ। टी २० मा यूएसए र जर्सी दुबै टिमलाई समान २/२ खेलमा हराएको छ। यसर्थ नामिबिया पनि उच्च लयमा देखिन्छ।

'दुबै टिम अहिलेको समयमा राम्रो टिम छ। नेपाल पनि त्यतिकै बलियो टिम छ। नेपालको लागि चुनौती पनि छ। विकेटहरुमा फास्ट बलरलाई सहयोगी हुने किसिमको छ। यो प्रतियोगितामा नामिबिया र नेपाल एकै ठाउँमा खेल्न गइरहेको छ। प्वाइन्टमा पनि दुई टोली एकअर्काभन्दा तलमाथि छ,' लामिछानेले भने, 'यो प्रतियोगितामा उनीहरुलाई हराउन सके हामीलाई अलि माथि पुर्‍याउन सक्ने छ। स्कटल्याण्डसँग जित्न सके हाम्रो लागि थप भने छ। त्यहाँको वातावरणले गर्दा पनि यो प्रतियोगिता बढी चुनौतीपूर्ण छ। त्यहाँ दुई तीन खेल जित्न सके चुनौतीपूर्ण हुन सक्नेछ।'

नेपालको तयारी

नेपाली टोली अमेरिकामा घरेलु टोली र ओमनसँग सिरिज खेलेर फर्किएको महिना दिन भएको छैन। यसैबीच खेलाडीलाई केही दिन 'होली डे' दिइएको थियो। तयारी धेरै नभए पनि टिम राम्रो भएको कप्तान लामिछाने बताउँछन्।

छोटो तयारीपछि क्यानडा पुगेको नेपाली टोलीले त्यहाँको एउटा स्थानीय क्लबसँग अभ्यास खेल खेलेको छ भने क्यानडाको राष्ट्रिय टोलीसँग थप दुई खेल खेल्दैछ।

'क्यानडा र स्कटल्याण्डको अवस्था केही समान छ। पुरा नहोला तर केही हदसम्म मिल्छ। त्यहाँ पनि राम्रो टिम छ। युवा खेलाडीका टिमको वातावरण खेलका लागि राम्रो अवसर रहने छ,' लामिछानेको भनाइ छ, 'स्कटल्याण्ड सिधा जान मिलेन, युके जान पनि मिलेन त्यसबाहेकको उत्तम विकल्पका रुपमा क्यानडा जान लागेका हौ। खेलको अभ्यास कहाँ राम्रो हुन्छ। श्रीलंका पनि विकल्प हुने थियो तर त्यहाँ र स्कटल्याण्ड अवस्था मिल्दैन।'

स्कटल्याण्डको अवस्था फास्ट बलरको लागि मैत्रीपूर्ण रहेको अवस्थामा पछिल्ला सिरिजयता फास्ट बलरले राम्रो प्रदर्शन गर्नु नेपालको राम्रो पक्ष भएको लामिछानेको बुझाइ छ।

'पछिल्लो पाँच छ महिनामा स्पीन त्यति फ्रेन्ड्ली भएको छैन। फास्ट बलरले हामीलाई सजिलो भइरहेको छ। राम्रो पक्ष भनेको फास्ट बलरले राम्रो गरिरहनु भएको छैन,' लामिछानेले भने। त्यहाँको अवस्थामा खेल्न आफूलाई पनि चुनौती रहेको लामिछानेको बुझाइ छ।

टोलीमा दुई परिवर्तन, युवाबाट आशा

अमेरिका गएको नेपाली टोलीबाट दुईवटा परिवर्तन भएको छ। यसपाला बसिर अहमद र पवन सर्राफले टिममा स्थान बनाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी बिदाइका क्रममा दाबी गरेका थिए : नेपालभरीबाट बन्ने सक्ने उत्कृष्ट टिम यही हो।

'बसीर टिममा राम्रो छ। ब्याटिङ स्कील पनि छ। पवन पनि हुनु भनेको दुबै जनाको ब्याटिङ पनि छ, बलिङ पनि छ। वहाँहरुको फाइदा कसरी लिन सकिन्छ। वहाँहरुको राम्ररी प्रयोग गरेर टिममा वहाँहरुलाई सन्तुलित गर्ने हाम्रो सोच छ,' कप्तान लामिछानेको तर्क छ, 'अघिल्लो सिरिजमा पनि फास्ट बलरले राम्रो गरिरहनु भएको छ। किशोर महतो पनि टिममा हुँदा राम्रो सन्तुलन हुन्छ। करण र सोम दाईको अनुभव छ। स्पीनरका रुपमा मलाई पनि चुनौती छ।  त्यहाँ धेरैभन्दा धेरै खेल जित्नुपर्ने हुन्छ। यो सिरिजमा सकेसम्म तीन वटा खेल जित्न सके राम्रो हुन्थ्यो।' 

असहयोगको चर्चा

शनिवार कप्तान लामिछानेले एउटा ट्वीट गरे, 'शुन्य सहयोग? केही छैन। तिमीले यो युद्ध एक्लै लड्नुपर्छ।' उनको यो ट्वीटसँगै नेपाली टिममा रहेको गुट उपगुटसँग जोडेर सामाजिक सञ्जालमा विश्लेषण भइरहेको छ।

लामिछानेले यो कुरा कुन सन्दर्भमा भनेका हुन् स्पस्ट छैन तर लामिछाने कप्तानीमा आएसँगै टिममा रहेका असन्तुस्ट पक्षलाई केन्द्रीत गरेको हुनसक्ने विश्लेषण चलिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell