PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादीको केन्द्रीय कमिटी सदस्य संख्या साढे ४ सय पुग्ने, फेरि अरु पार्टीको भन्दा ठुलो कमिटी बनाएर राख्ला रेकर्ड?



प्रकाश भण्डारी

माओवादीको केन्द्रीय कमिटी सदस्य संख्या साढे ४ सय पुग्ने, फेरि अरु पार्टीको भन्दा ठुलो कमिटी बनाएर राख्ला रेकर्ड?

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार झन्डै साढे ४ सय हाराहारीको हुने भएको छ। विधानमा दुई सय ९९ जनाको केन्द्रीय कमिटी हुने व्यवस्था छ।

तर त्यसमा वैकल्पिक,एकता प्रक्रिया र मनोनितलाई जोड्दा झण्डै साढे ४ सय पुग्ने भएको हो। नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य गणेश साहले साढे ४ सय केन्द्रीय सदस्य पुग्ने बताए। ‘२९९ विधानअनुसार त्यसमा २५ प्रतिशत वैकल्पिक,१० प्रतिशत एकता प्रक्रिया गर्दा साढे ४ सय पुग्छ,’ उनले भने।

साहले ३ सय जति अहिले नै केन्द्रीय सदस्य रहेको र त्यसमा आइतवार बस्ने केन्द्रीय कमिटीले थप गर्ने तयारी भएको जानकारी दिए। माओवादी केन्द्रका अर्का पूर्व स्थायी कमिटी सदस्य देव गुरुङले पनि माओवादी केन्द्रको केन्द्रीय कमिटीले पूर्णता पाउने विषय आजको बैठकमा छलफल हुने बताए।

गुरुङले भने, ‘२ सय ९९ मा थप हुन सक्छ। आजको बैठकले पूर्णता दिने भन्ने छ।’ नेकपा माओवादी केन्द्रले साढे ४ सयको हाराहारीमा केन्द्रीय कमिटी बने उक्त केन्द्रीय कमिटी अरु पार्टीको तुलनामा सबैभन्दा ठुलो हुने छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३ सय ३५ जनाको छ। नेकपा एमालेमा ३ सय १ जनाको केन्द्रीय कमिटी छ भने नेपाली कांग्रेसमा १ सय ६७ जनाको केन्द्रीय समिति हुने व्यवस्था छ।

यसअघि एमालेसँग एकता हुनुअघि झन्डै ४ हजार जनाको केन्द्रीय कमिटी थियो। ०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा माओवादीको भागमा २ सय केन्द्रीय सदस्य थिए। त्यतिबेला नेकपाको केन्द्रीय कमिटी चार सय ४५ जनाको थियो।

२०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जनाको नाम महाधिवेशनको हलमा केन्द्रीय सदस्यका लागि वाचन गरेर सुनाएका थिए। त्यसैको भोलिपल्ट बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

तर, महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दा पनि अरु पदाधिकारी र पार्टीको संरचना माओवादी केन्द्रले बनाउन सकेको छैन। स्थायी कमिटी, पोलिटब्युरोलगायत गठन हुन नसकेका हुन्। माओवादी केन्द्रको महासचिवका लागि नेताहरु जनार्दन शर्मा र वर्षमान पुनबीच प्रतिस्पर्धा रहदैँ आएको छ। महाधिवेशनका बेला पुन बिरामी भएर चीनमा उपचारका क्रममा रहेकाले पदाधिकारी चयन हुन नसकेको प्रचण्डले बताएका थिए।

सुरुमा राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले अन्तिममा महाधिवेशन नै गर्ने निर्णय गरेको थियो। निर्वाचन आयोगले माओवादी केन्द्रको महाधिवेशनको समय गुज्रिएको भन्दै प्रश्न उठाउन थालेपछि माओवादी केन्द्र महाधिवेशनमा गएको थियो। पार्टीको संरचना र पदाधिकारीले पूर्णता नदिइ स्थानीय निर्वाचनमा होमिएको माओवादी केन्द्र तदर्थमा चल्दै आएको छ।

नेताहरुबिचको किचलोका कारण माओवादीका संरचना र पदाधिकारी चयन हुन सकेका छैनन्। पार्टी संरचनाले पूर्णता नपाउँदा अध्यक्ष प्रचण्डले आफू अनुकुल निर्णय गराइरहेको भन्दै बेलाबेल माओवादीमा विवादसमेत हुने गरेको छ। यसअघि माओवादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्ष र अध्यक्ष प्रचण्डपक्षबिच विवाद भएको थियो। उक्त विवाद हाल सतहमा भने देखिएको छैन। यद्यपि सरकारमा सहभागिता,सत्ता गठबन्धन कायमै राख्ने/नराख्ने लगायतका विषयमा नेताहरुबिच मतभेद रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। जसकारण माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पटकपटक सर्ने गरेको थियो।

आज बस्ने केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयनका बारेमा छलफल हुन सक्ने भए पनि टुंगिने सम्भावना भने नभएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्। आइतवारको बैठकमा मुख्यगरी चुनावको समीक्षा,संगठनात्मक विषयवस्तु, गठबन्धन लगायतका एजेण्डामा छलफल हुदैँ छ। माओवादी केन्द्रका नेताहरुले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा इमान्दारिता नदेखिएको भन्दै प्रश्न उठाइरहेका छन्। अब हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा कसरी गठबन्धन गर्ने भन्नेबारेमा पनि छलफल हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell