PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्डका ४ आरोप र ८ स्वीकारोक्ति, प्रक्षेपण : माओवादी शक्तिशाली बन्ने संकेत देखियो तर गठबन्धन गर्नुपर्छ



प्रकाश भण्डारी

प्रचण्डका ४ आरोप र ८ स्वीकारोक्ति, प्रक्षेपण : माओवादी शक्तिशाली बन्ने संकेत देखियो तर गठबन्धन गर्नुपर्छ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुका कारण आफ्नो पार्टी स्थानीय तह निर्वाचनमा पराजित भएको आरोप लगाएका छन्। आइतवारदेखि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

जसमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस माओवादी केन्द्रको हारको मुख्य कारण भएको प्रचण्डको ठहर छ। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई पनि प्रचण्डले माओवादी हारको दोष दिए।

स्थानीय तह निर्वाचनमा १२१ ठाउँमा चुनाव जितेको माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ। गठबन्धनमा इमान्दार हुँदा माओवादी नेकपा एमालेकै हाराहारीमा जित्ने प्रचण्डको दाबी थियो। अन्तर्घातलाई पनि हारको कारण मानेका प्रचण्डले गठबन्धनप्रति अविश्वास र उच्च महत्वकांक्षाले माओवादी पराजित हुनुपरेको स्वीकारेका छन्।

आरोप १ : कांग्रेस बेइमान 

हारको पहिलो दोष प्रचण्डले नेपाली कांग्रेसलाई दिए। कांग्रेसले सत्ता गठबन्धनमा इमान्दारिता नदेखाएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा कांग्रेसकै कारण माओवादी केन्द्र पराजित भएको प्रचण्डको भनाइ छ।

‘नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर पाइएन,’ प्रतिवेदनमा आरोप लगाइएको छ।

पार्टीको बलियो उपस्थिति रहेको ठाउँमा पनि एमाले र अरु दलसँग गठबन्धन गरी कांग्रेसले माओवादीलाई हराएको आरोप पनि प्रतिवेदनमा छ।

आरोप  २: कांग्रेस अरुसँग मिल्यो 

आफू बलियो भएको ठाउँमा कांग्रेसले माओवादीलाई अरु दलसँग मिल्न नदिएको पनि आरोप प्रचण्डले लगाएका छन्। तर,माओवादी बलियो भएको ठाउँमा भने कांग्रेस एमालेसँग मिलेर हराउन लागेको प्रचण्डले अर्को आरोप पनि कांग्रेसलाई लगाएका छन्।

‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ।’

आरोप ३ : एकीकृत समाजवादीको बार्गेनिङ नै बढी

गठबन्धनको अर्को दल एकीकृत समाजवादीमाथि पनि माओवादी केन्द्र स्थानीय तह निर्वाचनको परिणामलाई लिएर खनिएको छ। एकीकृत समाजवादीका कारण पनि माओवादी केन्द्र पराजित भएको भन्दै प्रचण्डले गठबन्धनमा एकीकृत समाजवादीले धेेरै ‘बार्गेनिङ’ गरेको आरोप लगाएका छन्। एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा धेरै माग गरेको प्रचण्डले आरोप लगाएका हुन्।

‘नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँठाउँमा केही समस्या देखियो,’ प्रचण्डको आरोप छ।

आरोप ४ : जसपाको अरुची

माओवादी केन्द्रले आफू स्थानीय तहको निर्वाचनमा हार्नुको अर्को दोष जसपालाई पनि दिएको छ। गठबन्धनप्रति जसपा रुची नै नदेखाएको माओवादीको आरोप छ। प्रचण्डले तराईमा जसपा बलियो स्थितिमा भए पनि गठबन्धन गर्नै नमानेको आरोप लगाएका छन्।

‘जसपा आधार बलियो भएका तराई-मधेशका स्थानमा गठबन्धनका लागि अनिच्छक रहेका पाइयो,’ प्रतिवेदनमा भनिएको छ।

‘माओवादी मात्र इमान्दार’

गठबन्धनका अरु दललाई आरोप लगाएका प्रचण्डले माओवादी केन्द्र भने सबैभन्दा बढी इमान्दार दल भएको दाबी गरेका छन्। अरु दलका कारण हार्नुपरेको आरोप लगाएका प्रचण्डले आफ्नै दलका कारणहरु पनि केलाएका छन्।

पार्टीको अन्तर्विरोधलाई पनि प्रचण्डले हारको कारणका रुपमा प्रतिवेदनमा उल्लेख गरेका छन्। महत्वाकांक्षाका कारण पनि माओवादी पराजित भएको प्रचण्डको अर्को स्वीकारोक्ति छ।

‘हाम्रो पार्टी गठबन्धनप्रति इमान्दार देखियो भने कतिपय स्थानमा स्थानीय अन्तर्विरोध तथा र गठबन्धनका लागि अनिच्छक रहेको पाइयो,’ प्रचण्डको दाबी छ। तर,माओवादी केन्द्रको जित २०७४ सालको स्थानीय तहको निर्वाचनको भन्दा सन्तोषजनक भएको माओवादिको ठहर छ। 

हार्नुका ८ स्वीकारोक्ति

प्रचण्डले शहरी क्षेत्रमा माओवादीको जनमत कमजोर बनेको स्वीकारेका छन्। शहरी चुनावी रणनीतिमा परिवर्तन गर्नुपर्ने प्रचण्डको भनाइ छ।

कांग्रेस शहरको तुलनामा गाउँमा कमजोर भएको प्रचण्डको दाबी छ। गठबन्धनका शीर्ष नेताहरुका बिचमा समझदारी नजुट्दा पनि माओवादी केन्द्र पराजित हुनुपरेको प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्।

माओवादी केन्द्रका आठ कारण पनि हारका लागि निर्णायक भएको प्रचण्डले बताएका छन्। आवश्यकताभन्दा बढी गठबन्धनमा विश्वास गर्दा उम्मेदवारका आकांक्षी बढी भएको र एकल प्रतिस्पर्धा गर्नपर्दा अरुची हारका कारण भएको प्रचण्डको स्वीकारोक्ति छ। पालिकामाा गठबन्धन भएको भए पनि वडा तहमा तालमेल हुन नसक्दा पनि पराजित भएको प्रचण्डले बताएका छन्। 

‘प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षमा गठबन्धन हुने तर वडा तहमा एकल प्रतिस्पर्धा गर्नपर्दा चुनावी प्रचार, एकीकृत परिचालनमा तालमेल मिलाउन नसक्नुले पनि पराजय भएको छ,’ प्रचण्डले पार्टीभित्रको हारको कारणलाई केलाउँदै भनेका छन्। तालमेल व्यक्ति केन्द्रित र निश्चित पालिका केन्द्रित हुँदा पनि माओवादी हारेको प्रचण्डले बताएका छन्।

लोकप्रियलाई भन्दा आफू निकटलाई उम्मेदवार बनाउन जोड गर्नू पनि हार्नुको कारण भएको प्रचण्डको दावी छ। यस्तै, आफू वा आफूनिकटकाले टिकट नपाउँदा असहयोग गर्नु वा हराउन उद्धत हुनु, पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलहरुम विकृतिका रुपमा देखा परेको प्रवृत्तिलाई रोक्न नसक्नु पनि हार्नुको कारण भएको प्रतिवेदनमा उल्लेख छ। पार्टीभित्रको गुटबन्दी र अन्तर्घातका घटना हुनुले पनि माओवादी केन्द्र हारेको भन्दै प्रचण्डले भनेका छन्। 

‘त्यस प्रकारका गुटबन्दी, असहयोग र अन्तर्घात जस्ता पार्टी विरोधी गतिविधिहरुको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नु पर्छ,’ प्रतिवेदनमा प्रचण्डले भनेका छन्।

‘एसपीपी माओवादीका कारण असफल भयो’

प्रतिवेदनमा चुनावी जित हारको मात्रै प्रचण्डले समीक्षा गरेका छैनन्, नेपालमा बाह्य हस्तक्षेप बढ्न थालेको पनि बताएका छन्। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई १२ बुँदे व्याख्यात्मक घोषणा गरेर प्रतिनिधि सभाबाट पारित गराउनु बाध्यता भएको स्वीकारेको माओवादीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई लागू नगर्ने निर्णय गराउनु भने आफ्नो पार्टीको सफलताको रुपमा व्याख्या प्रचण्डले गरेका छन्।

‘एउटा विशिष्ट परिस्थितिमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको बाध्यता पछि एसपीपी सम्झौता मार्फत नेपाललाई आइपिएसको अंग बनाउने प्रयास हाम्रो विशेष पहलका कारण असफल पारिएको छ,’ प्रचण्डले भनेका छन्। 

‘माओवादी पुन: शक्तिशाली बन्ने संकेत देखियो’

प्रचण्डले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनमार्फत पार्टी पराजयको कारण मात्रै केलाएका छैनन्, उनले माओवादी शक्तिशाली हुने प्रक्षेपण समेत गरेका छन्। एमाले नराम्रोसँग पराजित हुनुलाई अबको निर्वाचनमा माओवादी शक्तिशाली हुने संकेतका रुपमा लिनुपर्ने प्रचण्डले उल्लेख गरेका छन्। 

‘स्थानीय तह निर्वाचनमा हाम्रो पार्टीलाई पराजित गर्ने र सीमान्त शक्तिमा बदल्न चाहने शक्तिहरु स्वयं नराम्रोसँग पराजित भएका छन्,’ प्रचण्डको भनाइ छ, ‘माओवादी पार्टी पुनः शक्तिशाली बन्ने स्पष्ट संकेत देखिएको छ।’ 

शक्तिशाली हुने संकेत देखिएको प्रक्षेपण गरेका प्रचण्डले गठबन्धनको भने आवश्यकता औँल्याएका छन्। प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि गठबन्धन गरेरै अगाडि बढ्नुपर्ने योजना पनि केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले सुनाएका थिए।

‘आसन्न निर्वाचनको तयारी, संयुक्त मोर्चा निर्माण, चुनावी गठबन्धन, निर्वाचनमा आफ्नो विचार-राजनीतिको प्रचार, संगठन विस्तार साथै निर्वाचनको प्रयोग बारेका सैद्धान्तिक मान्यता एवं चुनाव र समाजवादी कार्यदिशाबिचका अन्तरसम्बन्धका विषयमा अभियानकै रुपमा प्रशिक्षण संचालन गर्नुपर्छ,’ चुनावी रणनीतिबारे प्रचण्डले भनेका छन्।

यस्तै, राष्ट्रिय राजनीतिका एजेन्डाका हिसाबले माओवादी केन्द्र पहिलो स्थानमा रहेको प्रचण्डको दावी छ। तर, आउने चुनावमा विभिन्न शक्तिसँग मिल्ने नीति माओवादीले लिने प्रचण्डले योजना सुनाए।

‘संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता एवं संघीयतासहितको लोकतन्त्रमा सहमत शक्तिसँग गठबन्धनको नीति अख्तियार गरिने छ,’ प्रतिवेदनमा भनिएको छ।

पदाधिकारी चयनबारे मौन

केन्द्रीय कमिटी सदस्यहरुले प्रचण्डलाई तत्काल पार्टीका पदाधिकारी चयन गर्नुपर्ने भन्दै दबाब दिएको भए पनि प्रचण्ड भने पदाधिकारी चयनबारे मौन छन्। पुस १८ गते यताको ६ महिना माओवादी केन्द्र तदर्थमै चल्दै आएको छ। अबका निर्वाचनमा पार्टीलाई जित निकाल्न चुस्त पार्टी संरचना चाहिने केन्द्रीय कमिटी सदस्य लेखनाथ दाहालले बताए। 

भने, ‘अहिले नेपालीको राजनीतिक परिस्थिति हेर्दा चुस्त पार्टी संरचना बनाएरमात्रै चुनावमा जान सकिन्छ।’ 

पदाधिकारी,स्थायी कमिटी र पोलिटब्युरो चयनको विषय एजेन्डामा राखिएको भए पनि छलफल भने पहिलो दिनको बैठकमा हुन सकेन। माओवादीको ८औँ महाधिवेशनको हलमा केन्द्रीय कमिटी सदस्यको नामावली वाचन गरिएको थियो भने त्यसकै भोलिपल्ट २०७८ पुस १९ गते बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको थियो। महासचिव लगायतका विषयमा माओवादी केन्द्रभित्र नेता जनार्दन शर्मा र वर्षमान पुनबिच तीब्र प्रतिस्पर्धा छ। 

पहिलो दिन के भयो?

पराजयको कारणलाई केलाउने प्रयास गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको पहिलो दिनको बैठकमा विभिन्न ९ एजेन्डा प्रस्तुत भएका थिए। शहीदप्रति श्रद्धान्जली, केन्द्रीय समितिका नयाँ सदस्यको सपथ, बैठक संचालन प्रक्रियाबारे जानकारी, प्रदेश अध्यक्षको रिपोर्टिङ, प्रचण्डबाट वर्तमान परिस्थितिबारे सम्बोधन र संगठनात्मक लगायतका एजेन्डा पनि राखिएको थियो। संगठनात्मक एजेन्डामा पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो गठनलाई राखिएको छ। 

९ एजेन्डा प्रस्तुत भएकोमा बैठकमा आइतवार नयाँ केन्द्रीय कमिटी सदस्यको सपथ,प्रदेश अध्यक्षको रिपोर्टिङ र प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। अरु एजेन्डाबारेमा छलफल गर्न २१ गतेसम्म माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक चल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell