PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण गर्नेः उपाध्यक्ष तोकिए संयोजक, १४ विभागमा सचिव मनोनयन



पहिलोपोस्ट

एमालेले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण गर्नेः उपाध्यक्ष तोकिए संयोजक, १४ विभागमा सचिव मनोनयन

काठमाडौँः नेकपा (एमाले) ले गठबन्धनको घेराबन्दीसँगै आन्तरिक समस्याका कारण स्थानीय तहका पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको समीक्षात्मक निष्कर्ष निकालेको छ। आइतबार बसेको सचिवालय बैठकले लोकप्रिय मतमा पार्टी पहिलो भएको दाबी समेत गरेको छ। 

बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘लोकप्रिय मतमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुन सकेको निष्कर्ष निकालेको छ। साथै, घेराबन्दीसँगै आन्तरिक समस्याका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेकाले आन्तरिक समस्या समाधान गर्दै अगाडि बढ्ने निर्णय गरेको छ।’

बैठकले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, विभिन्न विभागमा सचिव मनोनयन पनि गरिएको छ। 

निर्णय अनुसार वित्त तथा कोष व्यवस्थापन विभागमा भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, स्थानीय तह विभागमा हर्क राई, परराष्ट्र मामिला विभागमा अन्जान शाक्य, सङ्घीय मामिला विभागमा शिव गुरूङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुङ्गाना, अर्थ तथा योजना विभागमा योगेन्द्र शाही, कानुन विभागमा डिल्लीराम मैनाली, उपभोक्ता हित संरक्षण विभागमा मोहनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी संसदीय मामिला विभागमा डा। सूर्य पाठक, सामाजिक सेवा विभागमा डा। नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापालाई सचिवमा मनोनयन गरिएको छ।

बैठकले निर्वाचनसम्बन्धी उजुरीको छानबिनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुख सदस्य रहेका छन्। 

देशव्यापीरूपमा वैचारिक र राजनीतिक प्रशिक्षण सञ्चालनको निर्णय पनि बैठकले गरेको छ।

प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वाग्मतीमा बिष्णुप्रसाद पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्बाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजकको जिम्मेवारी दिएको छ। 

बैठकले प्रचार तथा प्रकाशन विभागद्वारा प्रस्तुत सुझावसमेत समेटेर प्रचार कार्ययोजना पारित गरेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell