२०७६ मंसिर महिनमा जानुका सुवेदी थापा कामको सिलसिलामा भारत पुग्छिन्। दिल्ली पुगेकी उनी दुई महिनासम्म त्यतै बस्छिन्। दिल्लीको दुई महिने बसाईपछि उनी गुजरात पुगी डेढ महिनासम्म त्यतै बस्छिन्। त्यही बस्दा उनको भारतीय नागरिक झपडिया नरेशकुमार बाबुसँग भेट हुन्छ।
फागुन अन्तिम सातातिर भारतको पानीट्याङकीसम्म जानुकालाई पुर्याइदिएर नरेश गुजराततिरै फर्किन्छन्।
२०७६ चैत महिनामा नरेशले जानुकाका छोराछोरीका लागि खेलौना तथा कपडा भारतीय गाडीमा नेपाल पठाउँछन्। त्यसपछि ती भारतीय नागरिक बेलाबेला नेपाल आउने क्रम बढेर जान्छ।
यसरी नेपाल आउँदा मोरङको विराटनगर आउनेजाने गरेको देखिन्छ। छोटो समयमा दुईको सम्बन्ध यति प्रगाढ हुन्छ कि ती भारतिय नागरिकले जानुकाको घर बनाउँदा पाँच लाख रुपैयाँ सहयोगसमेत गरेका हुन्छ।
२०७९ वैशाख ४ गते इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध भारतीय रुपैयाँसहित नरेशलाई नियन्त्रणमा लियो। उनको साथबाट प्रहरीले ५९ हजार रुपैयाँसमेत बरामद भयो। केही दिनको अनुसन्धानपछि उनी आन्तरिक राजश्व कार्यालयबाट धरौटीमा छुटी तारेखमा बुझिरहेका थिए।
पक्राउ परेका अभियुक्तहरु।
गत जेठ महिनामा उनी मुद्दाको तारिखको लागि भारतबाट अर्जुनधारा नगरपालिका पुग्छन्। उनी जानुकाको घरमा नै तीन दिनसम्म बसेको प्रहरीको अनुसन्धानमा खुलेको छ। बसाईको क्रममा जानुकाका श्रीमानको अगाडि भारतीय नागरिकले दुर्व्यवहार गरेकोपछि घटनाले अर्कै रुप लिएको देखिएको छ।
असार ७ गते ती भारतीय नागरिक पुन जानुकाको घरमा पुग्छन्। केही दिन बसेर असार ९ गते बिहानको समयमा तारेखको लागि सुनसरीको इटहरी गएर पुन जानुकाको घरमा नै बस्न पुग्छन्।
यता जानुका र उनका श्रीमान भने नरेशलाई मार्ने योजना बनाइरहेका हुन्छन्। सुरेश परियार, अर्को एक जना मानिस, जानुका र बृखबहादुर थापाको बिचमा काम(मार्ने) सम्पन्न गरेपश्चात पाँच लाख सुपारी लिने दिने सहमति समेत भएको हुन्छ। असार ८ गते सुरेश परियार जानुकाको घरमा आई बसेको र ९ गते बिहान योजनाअनुसार अर्का एक जना मानिससमेत घरमा आई बसेका प्रहरीको अनुसन्धानमा देखिन्छ।
असार ९ गते भारतीय नागरिक इटहरीबाट आफ्नो तारेख सकाएर जानुकाको घरमा पुग्छन्। साँझ सुरेश परियार र अर्का एक जना मानिससँगै बसेर मादक पदार्थ सेवन गर्छन्। रातिको समयमा भुइतलाको उतरतर्फको कोठाको ढोकामा भारतीय नागरिक उभिरहेका अवस्थामा सुरेश परियारले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गर्दा मृतक भुईमा लडी फूलको गमलामा ठोक्किन पुग्छन्। भुइमा लड्नसाथ सुरेश परियारले मृतकको मुख थुनिदिई अर्का मानिसले घरमा रहेको फलामको मार्तोलले निधारलगायत शरीरको विभिन्न भागमा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
योजनाअनुसार लास लुकाउन र घटनालाइ ढाकछोप गर्ने नियतले लाशलाई बोराभित्र प्याक गरी बृखबहादुर थापाले चलाउने गरेको मोटरसाइकलमा राखी सुरेश परियार र अर्का एक जना मानिसले ह्युम पाइपभित्र राखि फर्केको प्रहरीको अनुसन्धानमा खुलेको छ।
काम सम्पन्न भएपछि योजना जानुका सुवेदीले सुरेश परियारलाई सुरुमा पच्चिस हजार दिएको र पछि एक लाख ७५ हजार गरी दुई लाख दिएको खुल्छ। र अर्का मानिसलाइ एक लाख दिएको र बाँकी दुइ लाख दिन बाँकी रहेको अनुसन्धानमा खुलेको छ।
***
भारतीय नागरिक नरेशको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ डाँडागाउँ बस्ने ३२ वर्षीय जानुका सुवेदी थापा,४९ वर्षीय विनय भन्ने बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका बस्ने २५ वर्षीय सुरेश परियारलाई नियन्त्रणमा लिएको हो।
उनीहरुले ४० वर्षीय भारतीय नागरिक झपडिया नरेशकुमार बाबुको हत्या गरेका थिए। अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा पर्ने जुकेखाडी-साहसी टोलको भित्री कच्ची सडक खण्डो ह्युम पाइपभित्र शव बोराभित्र फेला परेको थियो। व्यक्तिगत सम्बन्धलाई लुकाउन हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।