PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संयुक्त राष्ट्रसंघ भवन बाहिर रोहिंग्याको प्रदर्शन, 'शरणार्थी तिमीहरुको शत्रु होइन'

संयुक्त राष्ट्रसंघ भवन बाहिर रोहिंग्याको प्रदर्शन, 'शरणार्थी तिमीहरुको शत्रु होइन'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपालमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुले आज ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघ भवन बाहिर प्रदर्शन गरेका छन्। आफ्नो मानव अधिकार रक्षाको माग गर्दै उनीहरुले आज प्रदर्शन गरेका हुन्। 'शरणार्थी तिमीहरुको शत्रु होइन, जसले हामीलाई शरणार्थी बनायो उनीहरु तिम्रो शत्रु हो' लगायतका नारा लेखिएको ब्यानरसहित उनीहरु प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा बालबालिका पनि संलग्न थिए।

केहीदिन अघि उनीहरुले महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार काउन्सिलको कार्यालय बाहिर पनि प्रदर्शन गरेका थिए। विगत केही समयदेखि उनीहरु ११ बुँदे माग राख्दै प्रदर्शन गर्दै आइरहेका छन्।

म्यानमारबाट पलायन भई नेपाल आएका उनीहरुले आफ्नो बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित हुनुपर्ने, नेपालमा काम गर्न श्रम स्वीकृति, शरणार्थीविरुद्धको विभेदकारी नीति परिवर्तन हुनुपर्ने माग गरेका छन्। श्रम स्वीकृति दिन नसकेसम्म सबै शरणार्थी परिवारलाई बसोबास र खाद्यान्नको खर्च ब्यहोर्ने गरी आर्थिक सहयोग गर्न पनि उनीहरुले माग गरेका छन्।

उनीहरुले नेपाल सरकारलाई शहरी शरणार्थीलाई लगाउँदै आएको ‘भिसा पेनाल्टी’ अन्त्य गर्न र शरणार्थीका रुपमा मान्यता दिन पनि माग गरेका छन्। यस्तै, शरणार्थीहरुले स्वास्थ्य उपचारको खर्च ब्यहोर्न, भुटानी शरणार्थीको जस्तो सुविधा दिन, स्वदेश फर्किन चाहनेलाई चाँडै फर्कने वातावरण मिलाइदिन, क्यानडामा ‘रिसेटलमेन्ट’ प्रक्रिया अघि बढाउन पनि माग गरेका छन्।

प्रदर्शनमा रोहिंग्यासँगै अफगानिस्तानलगायतका शरणार्थीहरु पनि सहभागी थिए।



ट्रेन्डिङ पोस्ट

Ncell