काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को लागि अमेरिकालाई पत्र पठाउँदा आफूलाई नबताइएको बताएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँँदा सो कुरा बताइएको भए सबुत प्रमाण सदनमा पेश गर्न चुनौती समेत दिएका छन्।
ओलीले हस्त लिखित मिति राख्ने प्रचलनबारे पनि आफू अनभिज्ञ भएको समेत बताएका छन्। संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिमा अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे भएको छलफलमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एसपीपीबारे अमेरिकालाई पठाइएको पत्रमा हातले मिति लेखेकोमा प्रश्न गरेका थिए। जवाफमा प्रधानसेनापति प्रशुराम शर्माले पूर्व रक्षामन्त्री पोखरेललाई त्यो सेनाको प्रचलन रहेको जवाफ दिएका थिए।
आजको सम्बोधनका क्रममा सेनापतिको उक्त जवाफलाई काउन्टर दिँदै ओलीले भने, ‘सरकारी कागजपत्रहरुमा त्यस्तो चलानी नम्बर हेरफेर पठाउने नम्बर हातले लेख्ने चलानी नम्बर पछि लेख्ने हातले, यस्तो प्रचलन हुँदैन। तर म प्रधानमन्त्री भइसकेपछि भनेर पठाइएको भनेर अहिले जुन आएको छ त्यसको सत्य तथ्य आउनुपर्छ, यो सत्य तथ्य बाहिर ल्याउनुपर्छ। यो नेपाली सेनाले प्रचलन हो भनेको छ। यस्तो प्रचलन पनि हुन्छ र? प्रचलन नै हो भने प्रधानमन्त्री रक्षामन्त्रीलाई पनि नबताउने प्रचलन हुन्छ र? बताएको कुनै सबुत प्रमाण छ भने अथवा तत्कालिन प्रधानमन्त्री रक्षामन्त्री केपी ओलीले तत् सम्बन्धमा कुनै पनि निर्णय गरेको छ निर्देशन दिएको छ त्यो जानकारीमा आएको कुनै सबुत प्रमाण छ भने नेपाल सरकारको तर्फबाट त्यसलाई सदनमा पेश गर्न म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु।’
२०७६ सालमा तत्कालिन रक्षामन्त्रीले परराष्ट्र सचिवको संयोजकत्वमा कमिटी बनाएर एसपीपीलाई त्यतिबेला नै स्थगित गरेको ओलीको दावी छ।
‘२०७६ साल जेठमा अमेरिकाले एसपीपी आइपीएसको अंग भएको र नेपाल एसपीपीमा सामेल भएको रिपोर्ट प्रकाशित गर्यो। त्यसपछि हाम्रो ध्यान गयो। त्यो रिपोर्ट हेरेपछि, त्यस रिपोर्टको पेज ३८/३९ हेरेपछि हाम्रो ध्यान गयो। र तत्कालिन रक्षामन्त्रीले परराष्ट्र सचिवको संयोजकत्वमा एउटा कमिटी बनाउनु भयो, त्यो कमिटी परराष्ट्र सचिव, रक्षा रचिव, गृह सचिव रहेर बनेको थियो। त्यसले त्यतिबेला नै त्यसलाई स्टप गर्यो, यो हित अनुकुल छैन भनेर,’ उनले भने।