
काठमाडौं : राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति समेत जनाइन्।
‘बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन, विकास दिगो हुन सक्दैन, आगामी वर्षमा बजेट फ्रिज हुनेबारे अब अहिलेदेखि नै सोच्नुपर्छ,’ उनले भनिन्। किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने उनको माग थियो।
यस्तै, सांसद भैरवसुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद गोपीबहादुर सार्की अछामीले भने मोरङ जिल्लाका विभिन्न स्थानमा वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै अनावश्यक नदी कटानलाई रोक्न नदी ऐनको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।
सांसद शेखरकुमार सिंहले पनि किसानको समस्याबारे सदनमा अवगत गराएका थिए। उनले भने, ‘कृषिप्रधान मुलुकमा किसानले खेती गरिरहेको समयमा मल पाएको छैन, सरकारलाई कुनै चासो छैन।’