काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मासँग नैतिकताको अपेक्षा राख्न नहुने बताएका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण प्रक्रियामा भएको अनैतिक कार्यबारे अर्थमन्त्रीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै शर्माको आलोचना गरेका हुन्।
सीसीटिभी फुटेज ३ महिनासम्म सुरक्षित गर्नुपर्ने अनिवार्य प्रावधान विपरीत अर्थ मन्त्रालयले १३ दिनमै सीसीटिभी फुटेज डिलिट गरेकोप्रति उनले आपत्ति जनाए। 'भिडियो डिलिट किन गर्नुपर्यो?' भन्दै उनले प्रश्न समेत उठाएका छन्।
उनले भने, ‘१९ गते अर्थ मन्त्रालयले उपभोक्ता हित संरक्षण मञ्चलाई एउटा पत्र लेखेर 'तपाईँले सूचना माग्नुभयो तर त्यो १३ दिनमै डिलिट भयो' भनेर जवाफ दियो। गृह मन्त्रालयले यसअघि जारी गरेको एउटा निर्देशिकामा कुनै पनि सरकारी अड्डाको सीसीटिभी फुटेजहरु ३ महिनासम्म सुरक्षित गर्नुपर्ने प्रावधान अनिवार्य गरेको रहेछ। अनिवार्य प्रावधानको विपरीत के भएर अर्थ मन्त्रालयमा त्यो १३ दिनमै डिलिट हुनगयो?’
यत्तिको प्रश्न उठिसकेपछि पदमा रहिरहने कुरा व्यक्तिको नैतिकतासँग सम्बन्धित कुरा भट्टराईले बताएका थिए।
‘हामीलाई अर्थमन्त्रीसँग नैतिकताको अपेक्षा छैन। यत्तिको प्रश्न उठिसकेपछि त्यो पदमा रहिरहने कुरा व्यक्तिको एउटा नैतिकतासँग पनि सम्बन्धित कुरा हो। हामी त्यो अपेक्षा गर्दैनौँ। किनभने त्यो व्यक्तिको अन्तरनिहित गुण पनि हो, उहाँसँग त्यो अपेक्षा गर्नु अलि बढी नै हुन्छ। तर, प्रधानमन्त्री र उहाँ सम्बद्ध दलको नेता के हेरेर बसिरहनुभएको छ?’ उनले भने।