PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बुटवल-सैनामैना जोड्ने पुलको उद्घाटन गर्दै विष्णु पौडेलले भने : विकासका काममा राजनीति नगरौँ



पहिलोपोस्ट

बुटवल-सैनामैना जोड्ने पुलको उद्घाटन गर्दै विष्णु पौडेलले भने : विकासका काममा राजनीति नगरौँ

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदीस्थित कर्साघाटमा निर्माण सम्पन्न भएको पुलको नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका छन्।

सोमवार उक्त पुलको उद्घाटन गर्दै नेता पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति गरेर निर्माण सम्पन्न हुन लागेका योजनालाई बिथोल्न नहुने बताएका छन्। निर्माण सम्पन्न भएका योजनामा जस लिने नाममा स्थानीयमा अनावश्यक भ्रम सिर्जना गरेर अलमलमा पारेको भन्दै पौडेलले विकासे योजनामा अनावश्यक राजनीति नगर्न आग्रह गरे।

पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले बुटवलवासीको माग र भावना अनुरूप विकासका आयोजना अगाडि सारिएको बताउँदै तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा तिनाउ-दानव करिडोर निर्माण हुँदा बुटवलको सुन्दरता झनै थपिने बताए।

त्यस्तै, पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो चरणको काम, तिनाउ नदीमाथि सिग्नेचर पुल र बुटवल-चन्द्रौटा सडक चौडा बनाउने कामको प्रक्रिया पनि केही समयभित्रै सुरु हुने बताए। उनले ५० वर्षपछिको बुटवलको परिकल्पना गरी विकास आयोजना संचालन भइरहेको उल्लेख गर्दै आयोजनालाई समयमा सम्पन्न गराउने काममा नागरिकको साथ र खबरदारीको खाँचो रहेको बताए।

उक्त पुल निर्माणपछि अब बुटवल-१५ र सैनामैना-१ जोडिएका छन्। पुल बनेपछि किसानहरुले कृषि उपज बुटवल बजारसम्म ल्याउन, विद्यार्थीहरू विद्यालय, कलेज आउनसमेत सहज भएको छ। पुल नहुँदा सैनामैनाका किसानले उत्पादन गरेको तरकारी बजारमा ल्याउन समेत समस्या थियो।

संघीय सरकारको लगानीमा २०७४ असार २९ गतेदेखि पुल निर्माण थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए।

कुल १२७ मिटर लम्बाई र ११ मिटर चौडाईको दानव नदी पुल १३ करोड ९० लाख ३६ हजारको लागतमा निर्माण सम्पन्न भएको हो। पुल निर्माणको लागि अर्घाखाँची बाबुल जेभि रुपन्देहीले २०७४ असार २९ मा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell