
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन्। सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका हुन्।
उनले जारी केन्द्रीय कमिटी बैठकमा विभिन्न धारणा व्यक्त गरिएको जानकारी दिए। पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्ने लगायतका मत पार्टीभित्र रहेको स्पष्ट पारे।
उनले भने, ‘हामी स्थानीय चुनावको समीक्षा गरिरहेको छौँ। संघ र प्रदेशको चुनावका मुद्दामा आधारित भएर गठबन्धन अगाडि बढ्ने हो। हाम्रो छलफलको संश्लेषण भइसकेको छैन। एक्लै आफ्नो खुट्टामा उभिएर जानुपर्छ भन्नेपनि केन्द्रीय कमिटीमा मत छ। भएका गठबन्धनका गल्ती, कमजोरीलाई सँच्याएर यसैलाई अझ मजबुत बनाएर लिएर जानुपर्छ भन्ने मत पनि छ। वाम गठबन्धनतर्फ जानुपर्छ भन्ने पनि छ। वाम-लोकतान्त्रिक अथवा बाम-समाजवादीहरुको गठबन्धन हुनुपर्छ भन्ने पनि छ।’