PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

गगन थापाले मागे अर्थमन्त्रीको राजीनामा, ‘कि त प्रधानमन्त्रीले हटाउनु पर्छ’



पहिलोपोस्ट

गगन थापाले मागे अर्थमन्त्रीको राजीनामा, ‘कि त प्रधानमन्त्रीले हटाउनु पर्छ’
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसद् भित्र र बाहिर प्रश्नहरु उठेकोले राजीनामा दिनुपर्ने उनको भनाइ थियो। उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने बताए।

उनले यस विषयमा छानबिन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताए।

उनले भने, ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्शनमा जानुपर्छ। यत्रो विषय संसद्मा उठ्यो। बाहिर उठ्यो। हो, होइन मलाई थाहा छैन। तर, यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ। कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ। र तत्काल छानबिन गर्नुपर्छ।’

महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए। उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको पनि बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell