PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

असार २ गते यता भेटिए १७ जना हैजाका बिरामी, कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने?



पहिलोपोस्ट

असार २ गते यता भेटिए १७ जना हैजाका बिरामी, कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने?

काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजाका बिरामी फेला परेका छन्। पानीको स्रोतबाट हैजा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।

हैजाको पहिलो केस असार २ गते पुष्टि भएको थियो। काठमाडौंको बागबजार बसोवास गर्ने एकै परिवारका दुईजनामा हैजा देखिएको थियो। असार ३ गते ललितपुरको सानेपान-३ निवासीमा हैजा देखिएको थियो। यस्तै, असार ५ गते काठमाडौंको डिल्लीबजार निवासीमा हैजाको चौथो केस पुष्टि भएको थियो।

असार ६ गते काठमाडौंको कपन निवासीमा हैजा देखिएको थियो भने असार ७ गते काठमाडौं १६ बस्ने एक व्यक्तिमा हैजा देखिएको थियो। यस्तै, असार ८ गते एकजनामा, असार ९ गते ३ जनामा, असार। १० गते एकजनामा, असार १४ गते दुईजनामा र असार १६ गते थप ३ जनामा हैजा देखिएको थियो।

हैजा देखिनेमा ५ जना महिला छन् भने बाँकी सबैजना पुरुष हुन्। हैजा देखिनेमा १५ देखि २४ वर्षको उमेर समूहका मानिस धेरै छन्। यो उमेर समूहका ७ जनामा संक्रमण देखिएको छ। २५ देखि ३४ वर्षको उमेर समूहका ४ जना र ४५ देखि ५४ उमेर समूहका ३ जनामा संक्रमण देखिएको छ। ५ देखि १४, ५५ देखि ५४ र ६५ देखि ७४ वर्ष उमेर समूहका एकएकजनामा हैजा देखिएको छ।

मन्त्रालयले असार १८ गतेसम्म उपत्यकामा कूल १७ जनामा हैजा देखिएको जनाएको छ। यी मध्ये १० केस स्टूल कल्चरद्वारा पुष्टि भएको हो भने ५ केस आरडीटीबाट भएको हो। यस्तै, दुई केस ह्याडिङ ड्रफ विधिबाट पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल उपत्यकामा ५ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।

हैजा नियन्त्रणका लागि हाल उपत्यकाका विभिन्न स्थानमा पानीको परीक्षण भइरहेको छ। उपत्यकामा हैजाको रोकथाम र नियन्त्रणका लागि जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले वितरण गरेको पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले परिचालन भएको छ।

मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो। उपत्यकामा प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र मन्त्रालयले अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिकाले हैजा रोगबारे सूचना संकलनका लागि हटलाइन टेलिफोन सेवा सञ्चालन गरेको छ। महानगरले ११८० मा टेलिफोन गरेर आवश्‍यक जानकारी लिने व्यवस्था गरेको हो। काठमाडौं र ललितपुर महानगरले ठेलागाडामा खानेकुरा बेच्न रोक समेत लगाएको छ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार हैजामा पेट दुख्ने, वान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा आउने जस्ता लक्षणहरु देखिन्छन्। मन्त्रालयका अनुसार यसरी घरमै उपचार गर्न सकिन्छ।

घरमै उपचार गर्ने पाँच तरिका :

१) झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने।

२)प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक पटक खान दिने।

३) नरम तथा सजिलै पच्ने खानेकरा थोरै थोरै गरी पटक पटक खुवाइरहने

४) स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराइकन खुवाउने

५ )व्यक्तिगत सरसफाईमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने

यद्यपि स्वास्थ अवस्था बिग्रिँदै गएको खण्डमा भने तुरुन्त स्वास्थ्य संस्‍था लैजान मन्त्रालयले सुझाएको छ।

कस्तो लक्षण देखिएमा स्वास्थ्य संस्था जाने?

• खान पिउन नसक्ने गरी बिरामी भएमा

• दिसामा रगत देखा परेमा

• बारम्बार बान्ता भइरहेमा

• ज्यादै तिर्खाएमा

• ज्वरो आएमा

• धेरै पटक पातलो दिसा गरेमा

यसरी बच्न सकिन्छ पखालाबाट

• चर्पीमा मात्र दिसा पिसाव गर्ने

• दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने

• खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने

• पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने

• बासी, सडेगलेको, किंगा भन्केको खानेकुरा नखाने

• खानेपानीको मुहान सफा र सुरक्षित राख्ने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell