PahiloPost

Jul 3, 2024 | २० असार २०८१

रारा तालमा पुग्यो बिजुली



पहिलोपोस्ट

रारा तालमा पुग्यो बिजुली

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्‍याएको छ।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगढी जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरि सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो। अब जलविद्युत गृहबाट उत्पादित विद्युत २४ सै घण्टा आपूर्ति हुनेछ। रारा ताल परिसरमा संचालनमा रहेका होटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युत आपूर्ति पाएका छन्।

रारा ताल परिसरमा २५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ। प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट संचालनमा ल्याइएको बताए। ‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो। निकुञ्ज, स्थानीय प्रशासन, सुरक्षार्थ खटिएका नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत पुर्‍याउन सफल भएका छौं,’ यादवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell