PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बजेट सकाउने हतारो, सुस्त चलेको वाग्मती प्रदेश सरकारले १९ दिनमै खर्चियो ४ अर्ब



निशा गुरुङ

बजेट सकाउने हतारो, सुस्त चलेको वाग्मती प्रदेश सरकारले १९ दिनमै खर्चियो ४ अर्ब

हेटौंडा : वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा करिब ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। २४ अर्ब रुपैयाँ खर्चिन ११ महिना लगाएको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै तीन अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेको हो। गठबन्धनमा सरकारको नेतृत्व परिवर्तनको बहस चलिरहँदा मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले धमाधम बजेट सकाएको हो।

चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिना अर्थात जेठसम्ममा सरकारको बजेट खर्च ४२ प्रतिशत मात्रै थियो। तर,पछिल्लो १९ दिनमा सरकारले बजेट खर्चलाई ४९ प्रतिशत पुर्‍याइएको छ। चालू आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो। असार महिनाको १९ दिनमा सरकारको कुल बजेट खर्च २८ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ पुगेको छ। जसमा चालू तर्फ २३ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बजेट रहेकोमा १४ अर्ब एक करोड ६४ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तैगरि पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ बजेट ल्याएको सरकारले हालसम्म १३ अर्ब १७ करोड २१ लाख रुपैयाँ खर्च गर्न सकेको छ।

११ महिनामा २० करोड,१९ दिनमा ३० करोड खर्च

प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अत्याधिक रुपमा बजेट खर्चलाई बढाएको छ। ११ महिनामा २० करोड १२ लाख खर्च गरेको कार्यालयले १९ दिनमा नै ३० करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ। पछिल्लो १९ दिनमा सबैभन्दा धेरै बजेट खर्च मुख्यमन्त्री कार्यालयको नै बढेको देखिन्छ।

भौतिक पुर्वाधार विकास मन्त्रालयले पछिल्लो १९ दिनमा मात्रै ८५ करोड ३७ लाख रुपैयाँ बजेट खर्च गरेको छ। ९ अर्ब ७ करोड ४६ लाख रूपैयाँ ११ महिना लगाएको यस मन्त्रालयले असारको १९ दिनमा नै ८५ करोड ३७ लाख रुपैयाँ खर्च गरेको हो। सामाजिक विकास मन्त्रालयले असारको १९ दिनमा ७७ करोड ६० लाख रुपैयाँ बजेट खर्च गरेको छ। उक्त मन्त्रालयले ११ महिनामा तीन अर्ब ७२ करोड तीन लाख रूपैयाँ मात्रै बजेट खर्च गरेको थियो।

उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्रालयले पनि आर्थिक वर्षको अन्तिममा आफ्नो खर्चलाई बढाएको छ। चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा एक अर्ब ५७ करोड ६९ लाख खर्च गरेको मन्त्रालयले १९ दिनमै ३८ करोड तीन लाख रुपैयाँ बजेट खर्च गरेको छ। एक अर्ब १९ करोड २२ लाख खर्च गर्न ११ महिना लगाएको भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले पनि १९ दिनमा ३३ करोड ९३ लाख रुपैयाँ बजेट खर्च गरेको छ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि बजेट खर्चलाई बढाउदै १९ दिनमा १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ। ११ महिनामा २० करोड ७८ लाख खर्च गरेको उक्त मन्त्रालयले १९ दिनमै १५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि पछिल्लो १९ दिनमा ९ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ। उक्त मन्त्रालयले जेठ मसान्तसम्म ११ महिनाको अवधिमा २५ करोड ४ लाख ९५ हजार रूपैयाँ मात्रै खर्च गर्न सकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell