
काठमाडौं : केन्द्रीय कमिटीको मंगलवारको बैठक स्थगित गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा छलफल सुरु गरेका छन्। आइतवार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठक सोमवार पनि बसेको थियो। तर,मंगलवार बैठक सुरु हुनुभन्दा केही समय अघि मात्रै स्थगित भएको सूचना केन्द्रीय सदस्यहरुलाई दिइएको थियो।
पदाधिकारी,स्थायी कमिटी र पोलिटब्यूरो गठनका लागि प्रचण्डले मंगलवारको बैठक स्थगित गरेर बुधवारका लागि बोलाएको माओवादीका नेता गणेश साहले जानकारी दिए। पदाधिकारी र कमिटीहरुलाई पूर्णता दिन प्रचण्डले पार्टीका पूर्व स्थायी कमिटी सदस्यहरुलाई बोलाएर खुमलटारमा छलफल गरिरहेका हुन्।
प्रचण्डका प्रेस संयोजक रमेश मल्लले पनि आवश्यक तयारी गर्न प्रचण्डले आजको बैठक स्थगित भएको जानकारी दिएका थिए। उनले अहिले खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको बताए। 'अहिले कार्यालयको बैठक बसिरहेको छ,'उनले भने।
नेकपा माओवादी केन्द्रको महाधिवेशन २०७८ पुस १८ गते सम्पन्न भएको थियो। महाधिवेशन सकिएको ६ महिनासम्म पनि अध्यक्ष बाहेकका पदाधिकारी चयन हुन सकेका छैनन्। स्थायी कमिटी र पोलिटब्यूरो पनि माओवादीले हालसम्म बनाउन सकिएको छैन। पार्टी कमिटी र पदाधिकारीलाई पूर्णता नदिएरै माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा होमिएको थियो। केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी चयन गर्नुपर्ने भन्दै आवाज उठाएपछि प्रचण्ड पदाधिकारी चयन गर्नुपर्ने दाबाबमा छन्। माओवादी केन्द्रमा महासचिव चयनको विषय पेचिलो छ। नेताहरु जनार्दन शर्मा र वर्षमान पुन दुवैजना महासिचवको लागि पछि नहटेपछि पदाधिकारी चयन अन्यौलमा छ।