PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी-स्क्यान मेसिन वीरगंज आइपुग्यो, नाकाबाट अस्पताल कहिले पुग्छ छैन पत्तो



रिना थापा

७ वर्षपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी-स्क्यान मेसिन वीरगंज आइपुग्यो, नाकाबाट अस्पताल कहिले पुग्छ छैन पत्तो
Photo: Royal Philips

पोखरा : गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल हो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल। तर, यही अस्पतालमा सिटी-स्क्यानको सेवा बन्द भएको सात वर्ष बित्यो। जसको परिणाम स्वरुप बिरामीले सरकारी अस्पतालबाट सेवासुविधा लिन पाएका थिएनन्।

महँगो शुल्क तिरेर निजी अस्पतालमा धाउन बाध्य छन् बिरामी। सातवर्षसम्म सिटी-स्क्यान सेवा संचालन गर्न नसकेको क्षेत्रीय अस्पतालले नयाँ सिटी-स्क्यान मेसिन ल्याउँदै छ।

अस्पतालले नेदरल्यान्डको फिलिप्स कम्पनीसँग ७ करोड रुपैयाँमा गत साउनमा नै सम्झौता गरेको थियो। सम्झौता भएको एक वर्षपछि बल्ल सिटी-स्क्यान मेसिन आउन लागेको हो। वीरगंजको नाकामा आइसकेको मेसिन पनि दुईहप्तादेखि नाकामा नै अड्किएको छ।

‘वीरगंजमा आइराछ अब यता ल्याउन बाँकी छ। भंसार क्लियर गरेर ल्याउने हो अब कहिले आउने हो मलाई नि थाहा छैन। दुई हप्ता पुगिसक्यो त्यता आइसकेको पनि। वीरगंजबाट अस्पताल कहिले आइपुग्छ थाहा छैन,’ अस्पतालका निर्देशक प्राडा भरत बहादुर खत्रीले भने।

सम्झौता भएपछि ढिलाइ गरी एक वर्षपछि मात्र नाकामा आइपुगेको मेसिन पोखरा कहिले आइपुग्छ अस्पताललाई नै थाहा छैन।

‘आफ्नो देशमा बन्दैन अरुलाई फकाइ-फकाइ ल्याउनुपर्‍यो। पैसा भएर सबै कुरा नपाउने। भित्रको जे उथलपुथल हो त्यसैले पनि समस्या भएको हो आउन। कहिले लकडाउन कसले कसको युद्ध कहिले के,’ उनले भने।

उसो त लकडाउनको समस्या बाहेक पनि अस्पतालमा मेसिन ल्याउन सास्ती व्यहोर्नुपरेको थियो। करिब ८ वर्षअघि अस्पतालमा  ७० लाख रुपैयाँमा सिटी-स्क्यान मेसिन जडान गरिएको थियो। मेसिन जडान गरेको १ वर्ष बित्न नपाउँदै बिग्रियो।

बिग्रेको मेसिन बनाएर प्रयोग गर्नका लागि बारम्बार बनाउने काम समेत भयो। तर, मेसिन यतिका वर्षसम्म नबन्दा बिरामीले सास्ती व्यहोर्नुपर्‍यो। पछि, मेसिन खरिदका लागि स्वीकृति लिन र बजेट प्रक्रियामा जान नै समय लाग्यो।

‘मेसिन बिग्रेको ७ वर्ष भइसक्यो। पहिले त्यही मेसिन बनेर चलाउने कुरा थियो। नबनेपछि नयाँ मेसिन खरिद प्रक्रियामा गएको हो’, उनले भने, ‘हामी यता नयाँ मेसिन जडानका लागि तयारी गरेका छौँ। अब मेसिन कहिले आइपुग्छ भन्ने हो।’

अहिले खरिद गरेर ल्याउन लागेको मेसिनको पाँच वर्षको वारेन्टी छ। यस अवधिमा मेसिन बिग्रिएमा कम्पनीले नै व्यहोर्ने छ।

अस्पतालमा आउने बिरामी निजी र अन्य सरकारी अस्पतालमा

प्रदेशको अन्य अस्पतालमा बिरामीको उपचार हुन नसकेको खण्डमा रिफर हुने अस्पताल हो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल। तर, यहि अस्पतालमा सिटी-स्क्यान मेसिन नहुँदा कोही बिरामी मणिपाल, गण्डकी शिक्षण अस्पताल वा अन्य निजी अस्पतालमा जान बाध्य छन्।

अस्पतालले पनि बाहिर अन्य अस्पतालबाट सिटी स्क्यानको रिपोर्ट गरेर ल्याउन पठाउँछ। स्वास्थ्य बिमा भएका बिरामीलाई भने मणिपाल वा निजी क्षेत्रकै लगानीमा चलेको गण्डकी शिक्षण अस्पतालमा धाउँछन्। केही बिरामी अन्य निजी अस्पतालमा महँगो शुल्क तिरेर सिटी-स्क्यान गर्न बाध्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell