PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अराजक अर्थमन्त्री, लाचार प्रधानमन्त्री



पहिलोपोस्ट

अराजक अर्थमन्त्री, लाचार प्रधानमन्त्री

मुलुक आर्थिक संकटको बाटोतिर तीब्र रफ्तारमा गइरहँदा त्यसका चालक अर्थात् अर्थमन्त्री जनार्दन शर्माका गतिविधि लोकतन्त्रका लागि एउटा लज्जाको विषय बनेको छ। पछिल्लो समय अर्थ मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ प्रकरणका कारण राजनीतिको केन्द्रमा रहेका छन् शर्मा। प्रधानमन्त्री शेरबहादुर देउवाको राज्य संयन्त्रलाई चिनाउने एउटा बलियो बिम्व पनि हुन् उनी। अर्थ मन्त्रालयबाट भिडियो त मेटाइएको छ तर मेटाइएको भिडियोले मुलुकको गजबको दृश्य सार्वजनिक गरेको छ-अराजक अर्थमन्त्री, लाचार प्रधानमन्त्री।

लोकतन्त्रको एउटा महत्त्वपूर्ण चरित्र हुनुपर्थ्यो – जवाफदेही। पदीय जिम्मेवारी र त्यसउपर उठेका प्रश्नको जवाफबाट तर्किएर कुर्सीमा अडिने संस्कारले फेरि एकपटक गठबन्धन सरकारमाथि जनस्तरबाटै औला ठडिनु अनिवार्य भएको छ। राजनीतिक नेतृत्वसँगै अर्थ मन्त्रालयको स्थायी संयन्त्र इतिहासमै कमजोर सावित भएको छ - बजेटमा करका दरमाथि बाहिरियाको हालिमुहाली हुँदा होस् या सीसीटीभी फुटेज ‘डिलिट’ गरिँदा नै किन नहोस्। दृश्यहरु अमेट हुनेगरि जनताका स्मृतिमा कैद हुन थालेका छन्। सदनमा मिलिनियम च्यालेन्ज कर्पोशेरसन (एमसीसी) टेबुल गर्दा भाग्ने, राष्ट्र बैंकमाथि हस्तक्षेप गर्ने, बजेट बनाउँदा शक्तिको दुरुपयोग गर्ने, पेट्रोलियममाथि कर कटौतीमा सहमति दिएर पनि नटेर्ने। जनताका स्मृतिमा कैद यी दृश्यहरुलाई डिलिट कसरी गर्ने?

गजबको दृश्य देखिएको छ यतिखेर -जवाफहीन अर्थमन्त्री। मौन प्रधानमन्त्री। अर्थमाथि अनर्थ हुँदा पनि आफ्नो उपस्थितिलाई अर्थहीन बनाउने अर्थ सचिव मधु मरासिनी। मुलुकमा आर्थिक संकट गहिरिँदै गर्दाका चर्चित पात्र हुन् यिनीहरु जसलाई नेपालीले सधैं स्मरणमा राख्‍नेछन् - भलै हरेक पटक सीसीटीभी फुटेज ‘डिलिट’ किन नगरियोस्।

यतिखेर परिवारवादको आलोचनाबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ आलोचित छन्। उनीप्रतिको असन्तुष्टि जनस्तरमा मात्र होइन, कार्यकर्ता तहमा पनि उत्तिकै बढ्दो छ। प्रधानमन्त्री देउवा पनि अछुतो छैनन् आलोचनाबाट। समीकरणमा बलियो भए पनि पार्टीभित्रै परेको बेला उनको काँध थाप्न 'आशा गरिएका नेता'हरु तयार हुने स्थिति छैन। कम बोल्ने देउवालाई खुइल्याउन उनकी पत्नी डा आरजु राणा नै काफी छिन्। पदीय जिम्मेवारीमा नरहे पनि राजनीतिक वृत्तमा आरजुका हर्कत ‘ओपन सिक्रेट’ छन्। कांग्रेसको नेतृत्व तह र पदाधिकारी तथा कार्यकर्ता तहसम्मलाई चिढ्याइरहेकी छिन् राणाले। गठबन्धनका नाममा देउवा जे गर्न पनि तयार छन्। यो दृश्य जनस्तरमा कैद छ - सीसीटीभी खोज्न पर्दैन यसका लागि।

अर्थमन्त्री शर्माका गतिविधि सकारात्मक बन्न नसकेको यथार्थबाट माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवा दुवै अनभिज्ञ छैनन्। त्यसो त प्रचण्ड र देउवा दुवै पार्टी सम्हाल्ने मामिलामा फितलो भइसकेका छन्। पदाधिकारी चयन नगर्न प्रचण्ड मजबुर छन्। भातृ संगठनलाई सजिव बनाउँदाको जोखिम मोल्न देउवा तयार छैनन्। सत्तामा रहेका अन्य दलभित्रको किचलोले नेतृत्व 'नालायक' सावित गरिरहेको छ। लामो समय अर्थहीन रुपमा संसद अवरुद्ध गरेको आरोप खेपेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको उपस्थिति पनि अनाकर्षक छ। र, यी सबै असफलताका बिच मुलुकको अर्थतन्त्र 'अन्धेरी नगरी, चौपट राजा…'भने झै भइरहेछ।

यस्ता सबै विषयवस्तुमाथि प्रश्न उठ्दा, अर्थमन्त्री होस् या प्रधानमन्त्री जवाफ चाहिँ कसैले नदिने? यतिसम्म लाचारी प्रकट भइरहने हो भने प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको अहिलेको कार्यकाल असफलमात्र होइन अराजक र लोकतन्त्र विरोधीका रुपमा स्थापित हुनेछ। सँगै अनवरत असफलताका नायकका रुपमा देउवाको निधारमा थप टीको लाग्नेछ। यस्ता सबै परिदृश्यले जनतामा चरम नैराश्यता थप्नेबाहेक केही गरेको छैन। जहाँ जनता निराश छन् त्यहाँ अर्थतन्त्रले गति लिने अपेक्षा गर्न सकिन्न। अर्थतन्त्र थेग्ने सबै अवयवहरु 'डिप्रेसन'को सिकार भइरहँदा कतै कुनै तहबाट मात्र भए पनि आशाका किरण देखिनु पर्थ्यो। तत्कालका लागि त्यो अर्थमन्त्रीको बहिर्गमनबाट मात्र सम्भव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell