PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चुनाव सकाएर १४ औं साग गराउने मनस्थितिमा पाकिस्तान, के हुँदैछ तयारी?



मुकुन्द घिमिरे

चुनाव सकाएर १४ औं साग गराउने मनस्थितिमा पाकिस्तान, के हुँदैछ तयारी?
फाइल फोटो

काठमाडौं : नेपालले सन २०१९ को डिसेम्बरमा सफलताका साथ १३ औं दक्षिण एसियाली खेलकुद सम्पन्न गर्‍यो। नेपालमा सो प्रतियोगिता सम्पन्न भएसँगै सागको झण्डा पायो पाकिस्तानले। साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानले २०२३ को अन्त्यतिर साग आयोजना गर्नका लागि तयारी अघि बढाएको छ।

अघिल्लो सोमवारमात्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको भर्चुअल बैठक बसेको थियो। बैठकमा खासगरी सागको मिति तोक्नका लागि पाकिस्तानको तयारी, खेल संख्या लगायतको विषयमा छलफल चलेको थियो।

'बैठकमा खेल कतिवटा राख्ने भन्नेमा र मिति तोक्नेबारेमा छलफल भएको थियो,' नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले भने, 'मितिको सन्दर्भमा मार्चमा गर्न नसकिने र अर्को मितिका लागि उनीहरुको देशमा चुनाव हुन लागेको छ। चुनाव हुनेबित्तिकै मिति प्रस्ताव गर्छु भनेको छ।'

त्यस्तै खेल संख्याको सन्दर्भमा नेपालमा भएका खेलहरु र त्यसमा थप तीन खेलहरु प्रस्ताव पाकिस्तानले गरेको श्रेष्ठले बताए।

'खेल कति राख्ने भन्ने कुरामा रग्बि, बेसबल र जिम्न्यास्टिकको नयाँ प्रस्ताव आएको छ। नेपालमा भएको २८ वटा खेल र यो तीन खेललाई समावेश गरेर पाकिस्तानले हामी सबै सार्क राष्ट्रलाई सूची पठाउने,' उनले भने, 'कुनकुन देशले कुनकुन खेलमा सहभागिता जनाउने भनेर पठाएपछि त्यसको आधारमा १० दिनपछि बैठक बसेर खेलको टुंगो लाग्छ। त्यसै भित्रमा सायद उनीहरुको चुनावको टुंगो पनि लाग्छ। र, मिति पनि तयार गर्नेछ।'

आउने बैठकपछि सबै मितिहरुबारे टुंगो लाग्दै जाने श्रेष्ठले बताए।

पाकिस्तानी संचारमाध्यमले भने यी तीन खेल बाहेक पनि हक्की, बडी बिल्डिङ, स्नुकरलगायतका खेल पनि पाकिस्तानले थप्न चाहेको जनाएका छन्।

पाकिस्तान ओलम्पिक कमिटीका एक सदस्यले इन्टरनेशनल द न्युजसँग आम चुनावको तीन महिनाभित्र साग गराउने तयारी रहेको बताएका छन्।

'अगस्टमा चुनाव भएको खण्डमा सरकारलाई स्थीर बन्न केही महिना लाग्नेछ। र, त्यसपछिको समयमा साग आयोजनाका लागि राम्रो समय हुनेछ,' पाकिस्तान ओलम्पिक कमिटीलाई हवाला दिँदै द न्युजले लेखेको छ। जस अनुसार पाकिस्तानले अक्टोबर-नोभेम्बरमा आयोजनाका लागि प्रस्ताव गर्नेछ।

यसअघि नै खेलहरु पाँच शहरमा हुने स्पष्ट छ। खेलहरु सिआलकोट, इस्लामावाद, लाहोर, फैसलाबाद र गुजरनवालामा हुनेछ। पाकिस्तान ओलम्पिक एसोसिएसनका महासचिव खालिद मेहमुदका अनुसार खेलको नामहरु सार्क राष्ट्रहरुलाई पठाउने र इद पछि फेरि बैठक बसेर सबै कुरा टुंगो लाग्नेछ। खेल संख्या निर्धारित हुन कुनै पनि खेलमा कम्तीमा ४ राष्ट्रको सहभागिता आवश्यक पर्नेछ। पाकिस्तानले संकेत गरेरको समयसीमामा सबै देशले सहमति जनाएको बताइएको छ।

पाकिस्तानको आन्तरिक तयारीको पाटोमा पनि धेरै कुरा बाँकी रहेको खालिदले बताएका छन्।

' खेलहरुको संख्याको टुंगो भएपछि पञ्जाव र केन्द्र सरकारसँग खेलस्थललाई लिएर समन्वय गर्नुपर्नेछ। त्यसपछि दक्षिण एसियाली ओलम्पिक कमिटीले खेलस्थलको निरीक्षण गर्नेछ,' उनले भनेका छन्।

पाकिस्तानको प्रस्तावमा भारतलगायत सबै देशले सकारात्मक प्रतिक्रिया दिएकोले समस्या नरहेको खालिदले जनाएको छ। सार्क क्षेत्रमा पाकिस्तान र भारतको सम्बन्ध राम्रो छैन। खालिदले सन् २०१६ मा भारतले साग आयोजना गर्दा 'गुड विल जेस्चर' का लागि डेलिगेशन पठाएको उदाहरण दिँदै हाल त्यसको आवश्यकता नरहेको तर सरकारले चाहेमा त्यसका लागि कुनै समस्या नरहेको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell