PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सगरमाथा क्षेत्रमा 'च्याउ पर्यटन' को सम्भावना खोजी



पहिलोपोस्ट

सगरमाथा क्षेत्रमा 'च्याउ पर्यटन' को सम्भावना खोजी

काठमाडौं : जुन १९ मा नेपालको सगरमाथा क्षेत्र पुग्ने लक्ष्य लिएर एक टोली काठमाडौंबाट निस्कियो। मनसुन लागिरहेकोले लुक्लासम्म विमान जाने सम्भावना रहेन। खरिखोलासम्म गाडीमा र त्यहाँबाट टोलीको पदयात्रा सुरु भयो।

टोलीको नेतृत्व गरेका थिए डा शिव देवकोटाले। सँगै थिए अमेरिका, मेक्सिकोबाट आएका पर्यटकहरु। सगरमाथा जाने यो ‘अफ सिजन’ हो। यसपटक उनीहरु हिमाल हेर्ने रहरले मात्रै सगरमाथा क्षेत्र जाँदै थिएनन्। खुम्बु क्षेत्रमा पाइने च्याउका प्रजाति हेर्नु उनीहरुको मुख्य ध्येय थियो।

सगरमाथा आधार शिविरसम्म पुग्दा उनीहरुले १५६ वटा च्याउका विभिन्न प्रजाति फेला पारे। देवकोटा त्यसक्रममा पाइएका केही प्रजाति नयाँ र हालसम्म फेला नै नपरेका हुन सक्ने बताउँछन्। गुराँसको पातमा समेत च्याउ फेला परेको उनले सुनाए।

टोलीमा अमेरिकाबाट आठजना र मेक्सिकोबाट एकजना थिए। उनीहरु च्याउ हेर्नकै लागि भनेर नेपाल आएका थिए। सो टोलीमा फन्जाइ म्यागेजिनका सम्पादन डा. ब्रिट बर्नयार्ड पनि थिए। उनले ‘अफ सिजन’मा पनि सगरमाथामा ‘च्याउ पर्यटन’ को सम्भावना रहेको बताए।

भने,‘ यहाँ अझै नयाँ प्रजातिका च्याउ हुन सक्छन्। हामी त ट्रेक रुटबाट मात्र गएका थियौं। राष्ट्रिय निकुञ्ज भित्र थप विविधता हुन सक्छ।’

देवकोटाले यस अघि पनि सगरमाथा क्षेत्रमै काम गरेका थिए। उनको विद्यावारिधी पनि च्याउलाई नै लिएर थियो। ग्लोबल इनस्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका रिसर्च फेलो देवकोटा अफ सिजनमा सगरमाथा क्षेत्र जानु आफैमा नयाँ कुरा रहेको बताउँछन्। अफ सिजनमा च्याउ पर्यटनको सम्भावना पहलाउनु नै आफूहरुको उद्धेश्य रहेको उनले बताए।

देवकोटा ‘च्याउ पर्यटन’ भनिरहँदा नेपालमा विषालु च्याउका कारण धेरै मानिसको मृत्यु हुने गरेको यथार्थ विर्सन नहुने पनि बताउँछन्। खुम्बु क्षेत्रमा जाँदा स्थानीयले जंगली च्याउ खुवाएको भन्दै च्याउबारे सचेतना पनि उत्तिकै आवश्यक रहेको बताउँछन्।

‘ स्थानीयले त्यहीँका च्याउ खान्छन्। उनीहरुलाई थाहा छ कुन खान हुन्छ हुँदैन भनेर। नेपालमा विषालु च्याउ खाएर धेरैको मृत्यु हुने गरेको छ। हामी त्यसलाई रोक्न चाहन्छौं,’ उनले भने।

च्याउ पर्यटनको आधार खोजी गरेर सो टोली केहीदिन अघिमात्रै काठमाडौं आएको हो। अध्ययनको रिपोर्ट र डकुमेन्ट्री पछि सार्वजनिक गरिने देवकोटाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell