काठमाडौं : विराटनगर-४ स्थित ईकराहीमा गाईपालन गरिरहेकी छिन् लिलादेवी यादव। किसानले मल नपाउँदा देशभर खेती प्रणाली प्रभावित बन्दा उनी भने दिनहुँ गाईको स्याहारमा लाग्छिन्। दैनिक १०० लिटर दुध बिक्री गर्दै आइरहेकी छिन् उनी।
सुरुमा खेतीपातीका लागि आवश्यक पर्ने मलका लागि भैँसी पाल्दै आएकी थिइन् उनले। त्यसबाट राम्रो आम्दानी गर्न सकिरहेकी थिइनन्। घरपरिवार जसोतसो चलिरहेको थियो। तर, पछि उनलाई कान्छो छोराले गाईपालन व्यवसायबाट राम्रो कमाइ हुने भन्दै यो व्यवसाय सुरु गर्न सल्लाह दिए। र, लिलादेवीले जीवन विकास लघुवित्तबाट ऋण लिएर गाई पाल्न सुरु गरिन्। अहिले उनको फार्ममा १० माउँ गाईहरु र १० बाछाबाछी छन्। अझै गाईहरु थप्दै व्यवसायलाई बढाउने उनको योजना छ।
सुरुमा उनले लघुवित्तबाट १५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। अरु पहिलेको भैँसी बेचेर आएको पैसाबाट गाईहरु किनिन्। अहिलेसम्म लिलादेवीले बिना धितो ६ लाख रुपैयाँ ऋण चलाइसकेकी छन्।
‘बैंक के हो नै थाहा थिएन। लघुवित्तले समूहमार्फत ऋण दिन थालेपछि बिना धितो पनि ऋण पाइदो रहेछ भनेर थाहा भयो,’ उनले भनिन्।
लिलादेवीले पहिले बिहान बेलुका अरुको डेरी र घरघरमा दुध बेच्दै हिँड्ने गर्थिन्। तर अहिले छोराको सोचले आफ्नै डेरी खोलेकी छिन्।
उनले पहिले गाउँमा आफैँ लगेर अरुको डेरीमा दुध बेच्दा प्रतिलिटर ६०-७० रुपैयाँ पाउँथिन्। अहिले आफ्नै डेरी खोलेपछि उनले प्रतिलिटर ९०-१०० रुपैयाँ पाउँछिन्।
‘कतै पुर्याउन जान पनि नपर्ने, दु:ख पनि कम पैसा पनि धेरै,’ उनले भनिन्।
अहिले डेरीमा दुध मात्र नभई पनिर, दही, आइसक्रिम लगायतका वस्तुहरु बेच्ने गर्छिन् उनी। तराईमा गर्मी धेरै हुने कारण डेरीमा उत्पादन हुने वस्तुहरु धेरै मात्रमा बिक्री हुने गरेको लिलादेवी बताउँछिन्। उनले डेरीमा एक जनालाई रोजगारी पनि दिएकी छिन्।
उनले अहिले आफ्नै डेरी संचालन गरेर मासिक दुई लाख ७० हजार रुपैयाँ कमाउँछिन्। यही व्यवसायले उनले दुईवटा घर ठड्याएकी छिन्। तर, व्यवसायमा सफलता मिले पनि परिवार भने मिल्न नसकेकोमा उनले दु:ख पोखिन्। जेठो छोरा छुट्टै बसेकोमा पीडा छ उनलाई। कान्छो छोरा पनि विदेश जाने तरखरमा रहेको तर त्यो सफल नभएपछि भने आफूहरुलाई साथ दिइरहेको उनले बताइन्।
‘जेठो छोरा विदेश गएर आयो, घर छुट्टै बनाएर बसेको छ। आफैँ कमायो आफ्नै लागि गर्यो, हाम्रो लागि सोचेन’, लिलादेवी भनिन्, ‘कान्छो छोरामात्र सँगै बस्छ। उसले पनि पासपोर्ट बनाएर विदेश जानको लागि तयारी गरेर काठमाडौं आएको थियो, पछि झन्झटिलो भएपछि गाउँमा नै फर्कियो। अहिले डेरी चलाउँछ। महिनाको ३ लाखसम्मको व्यापार हुन्छ। सबै खर्च कटाएर एक लाख रुपैयाँ बचत हुन्छ।’
गाईका लागि आवश्यक घाँसहरु आफ्नै बारीबाट पुर्याउने गरेको उनले बताइन्। ३०/३५ बोरा चोकर एक महिनामा सकिने गरेको लिलादेवीको भनाइ छ।
कसले किन्छ गोबर?
व्यवसाय गर्न ऋण दिएकै लघुवित्तले अर्गानिक फार्मको लागि लिलादेवीको जस्तै गाई पालन व्यवसायबाट गोबर किन्ने गरेको छ। जीवन विकासको आफ्नै अर्गानिक फार्म छ। त्यसका लागि ऋण लिएर व्यवसाय गरेका व्यवसायीसँग गोबरदेखि सबै कुरा किन्ने गरेको छ। ताकी उनीहरुलाई व्यवसायमा टेवा पुगोस्।
लिलादेवीका अनुसार जीवन विकासले एक ट्याक्टरको एक हजार दिने गरेको छ। यसले गर्दा गाई व्यवसायमा टेवा पुगेको उनी बताउँछन्। सबै गाईहरुको बीमा पनि गरिएको छ।
‘केही दिन अघि एउटा गाई भेटेनेरी नजिक नहुँदा मृत्यु हुन पुग्यो। बीमाबाट ९० हजार पाएँ’, उनले भनिन्, ‘मैले दैनिक गोबर बेचेर मात्र ३ हजार जस्तो कमाउँछु। चोकर किन्ने पैसा यसैबाट म्यानेज हुन्छ।’
गोबर बेचेको पैसाले मात्र ऋणको किस्ता र बचत समेत हुने उनी बताउँछिन्।