PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादीमा ‘टिके’प्रथाको निरन्तरताका लागि गृहकार्य, प्रचण्डको खल्तीबाट पदाधिकारी!



प्रकाश भण्डारी

माओवादीमा ‘टिके’प्रथाको निरन्तरताका लागि गृहकार्य, प्रचण्डको खल्तीबाट पदाधिकारी!

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा स्थायी कमिटी र पोलिटब्यूरोलाई पूर्णता दिने तयारी गरेका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको मंगलवारको बैठकले पदाधिकारी तथा कमिटीका सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले बुधवारको बैठकमा पदाधिकारी,स्थायी कमिटी तथा पोलिटब्यूरो सदस्यको नाम बैठकमा प्रस्तुत गर्ने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

‘अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा नाम प्रस्ताव गर्नुहुनेछ,’गुरुङले भने। प्रचण्डका प्रेस संयोजक रमेश मल्लले पनि प्रचण्डले नाम प्रस्तावको जिम्मेवारी पाएको जानकारी दिएका छन्। 

आइतवारदेखि सुरु भएको माओवादी केन्द्रको तेस्रो केन्द्रीय कमिटीको बैठकमा मंगलवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि सहभागीहरुले आफ्ना धारणा राखेका थिए। मंगलवारको बैठक भने पदाधिकारी र स्थायी कमिटी तथा पोलिटब्यूरोलाई पूर्णता दिन तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो। प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको बैठकले स्थगित गरेका प्रचण्डले आफ्नै निवास खुमलटारमा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरेका थिए। 

पदाधिकारी संख्या कति?

पदाधिकारी चयनका लागि मा‌ओवादी केन्द्रमा गृहकार्य भइरहँदा पदाधिकारी संख्याबारे भने स्पष्ट व्यवस्था छैन। विधानमा पदाधिकारीको व्यवस्था भए पनि संख्यारबारे केही उल्लेख नभएको हो। २९९ जनाको केन्द्रीय कमिटीको व्यवस्था भएको माओवादी केन्द्रमा त्यसको एक तिहाइ पोलिटब्यूरो हुने उल्लेख छ। यस्तै, पोलिटब्यूरोको एक तिहाइ सदस्य संख्या भएको स्थायी कमिटी रहने विधानले व्यवस्था गरेको छ।

अध्यक्ष,उपाध्यक्ष,महासचिव,सचिव र कोषाध्यक्षको व्यवस्था भए पनि कति जना हुने भन्नेबारेमा भने केही उल्लेख छैन माओवादी केन्द्रको विधानमा। महाधिवेशन भएको ६ महिनासम्म पदाधिकारी पूर्णता दिन नसकेको माओवादीमा पदाधिकारीको संख्याबारे पनि अन्यौल भएको हो। 

प्रचण्डले छान्दैछन् नेता

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा आफू अनुकुल २४६ जना केन्द्रीय सदस्यको नाम हलमा वाचन गरेर ताली पिटन लगाएका अध्यक्ष प्रचण्डले पदाधिकारीमा पनि त्यस्तै प्रणाली अपनाउने भएका हुन्। २०७८ पुस १८ गते चयन भएको केन्द्रीय कमिटीले पुस १९ गते अध्यक्षमा प्रचण्डलाई सर्वम्मत चयन गरेको थियो। 

पदाधिकारीको नाम प्रचण्डले केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्ताव गर्ने भएका हुन्। ‘अध्यक्षले नाम प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुहुन्छ। त्यसका लागि तयारी भइरहेको छ,’माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्य गणेश साहले भने। केन्द्रीय सदस्य छान्दा टिके प्रथा अनुसार छानेको भन्दै त्यतिबेला प्रचण्डको आलोचना भएको थियो। हुनत माओवादी केन्द्रले पहिलोपटक केही प्रदेश कमिटीहरुमा निर्वाचन मार्फत पदाधिकारी चयन गरेको थियो। तर,त्यसलाई केन्द्रमा निरन्तरता भने माओवादीले दिन सकेको भने छैन।

पार्टीमा आन्तरिक लोकतन्त्र मर्दैन् ?

प्रचण्डले खल्तीबाट नाम वाचन गर्दा पार्टीको आन्तरिक लोकतन्त्र मर्ने भन्दै माओवादीका केही प्रश्न उठाउने गरेका छन्। जसरी यसअघि नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको हलमा केन्द्रीय कमिटी सदस्यको नाम वाचन गरेका थिए। तर,एमाले नेताहरु भीम रावल,घनश्याम भुसाल, टंक कार्की लगायतले ओलीको कदमको विरोध गर्दै चुनावको माग गरे। अन्तत: ओलीले चुनावी प्रक्रिया अपनाउन बाध्य भएका थिए।

माओवादी केन्द्रमा पदाधिकारी,स्थायी कमिटी,पोलिटब्यूरो तथा केन्द्रीय सदस्यका लागि आकांकक्षीहरुबिच तिब्र प्रतिस्पर्धा हुदा पनि प्रचण्डले आफू अनुकूल मात्रै नाम चयन गर्ने गरेका छन्। माओवादीमा आन्तरिक लोकतन्त्र कमजोर बनेको भनेर प्रश्न उठिरहदा केन्द्रीय सदस्य लेखनाथ दाहालले भने केन्द्रीय कमिटीले छान्दा अन्तिम हुने भएकाले छलफल भएरै पदाधिकारी लगायतको टुंगो लाग्ने बताए।

‘अध्यक्षले केन्द्रीय कमिटीमा नाम प्रस्ताव गर्नुहुन्छ। पास गर्ने त केन्द्रीय कमिटीले हो। अधिकार केन्द्रीय कमिटीलाई छ। यदी कमिटीलाई चित्त बुझेन भने त्यो नाम स्वीकृत नहुन पनि सक्छ,’उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell