
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन्। बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै खनालले यस्तो बताएका हुन्।
उनले अर्थमन्त्रीमाथि उठेको सवालहरुको हेलचेक्र्याँइ गर्नु नहुने बताए। उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिहरुलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताएए। बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वभाविक भएको उनको भनाइ छ।
उनले भने, ‘अहिले जुन धरातलबाट यो प्रश्न उठेको छ। यसको जवाफ सम्बन्धित पार्टीले अविलम्ब दिनुपर्छ। सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ। यस्ता सवालहरुमा हामीले हेलचेक्र्याँइ गर्नु हुँदैन। लिपपोत पनि गर्नु हुँदैन। मुलुकमा सबै कुरा पारदर्शी हुनुपर्छ भनेर हामी संविधान लेख्ने, अनि काममा त्यो नगर्ने खालको कुराहरु हुनु हुँदैन। सबैकुरा पारदर्शी हुनुपर्छ। र, कहीँ गल्ती, कमजोरी भएको छ भने सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्छ। तथ्यहरु अहिले जसरी प्रचार भइराखेको छ, त्यो प्रचार भएको कुरा सही हो भने राजीनामा स्वभाविक कुरा हो।’
उनले अर्थमन्त्री शर्मामाथिको आरोपको विषय गठबन्धनमा छलफल योग्य विषय भएपनि हालसम्म गठबन्धनमा छलफल नभएको बताए।