PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

खानेपानी आयोजनाको लागि विश्व बैंकबाट ५९.६ मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय



पहिलोपोस्ट

खानेपानी आयोजनाको लागि विश्व बैंकबाट ५९.६ मिलियन डलर ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ। अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार श्रेष्ठलाई हटाएर संगीतकार बास्कोटालाई ल्याउने निर्णय गरेको हो।

बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिकासम्बन्धि नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गरेको बताए।

कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि बताए।

त्यस्तै, नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर ब्यूरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान साहयता स्वीकार गर्ने निर्णय पनि गरिएको छ। हरित ग्यास उत्सर्जन न्यूनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवर्द्धनको लागि प्राप्त हुने २१.१२ मिलियन अमेरिकी डलर अनुदान साहयता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

उनले हरित तथा नविकरणीय उर्जा प्रवर्द्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने ४.५ मिलियन युरो बराबरको आर्थिक प्राविधिक साहयता स्वीकार गर्ने निर्णय पनि गरेको बताए।

त्यस्तै, सरकारले पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एशियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयतासम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। सरकारले २०७९ असार २४ देखि २६ गतेसम्म भारतको डिल्लीमा रि फाइडिङ द फिउचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ।

प्रवक्ता कार्कीका अनुसार संयुक्त राष्ट्र संघको आयोजनामा २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम र २९ देखि ३१ सम्म आयोजना हुने मिनिटेरियल सेग्मेण्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय पनि गरेको छ।

त्यस्तै, नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसद्बाट फिर्ता लिने निर्णय गरेको छ। यस्तै, सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत भएको छ।

सरकारले प्रत्येक वर्ष बैशाख १ गते घरजग्गा लिखित रजिस्ट्रेसन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता कार्कीले सरकारले विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको पनि पत्रकार सम्मेलनमा बताए।

उनले वाग्मती प्रदेश ट्राफिक प्रहरीलाई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरस्थित शतनचुली सामुदायिक वनको कुल ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको बताए। त्यस्तै, मन्त्रिपरिषद्ले कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको लागि सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले बताए।

मन्त्री कार्कीले भाषा आयोगमा डा अम्मरराज गिरी, प्राध्यापक डा कृष्णप्रसाद न्यौपाने, मातृका प्रसाद पोखरेल, गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने निर्णय भएको बताए। उनले विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको बताए।

त्यस्तै, सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा गोकर्ण प्रसाद सिटौलालाई नियुक्त गर्ने भएको छ। नेपाल प्रशासन सेवा सामूहीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा गोपीकृष्ण खनाललाई बढुवा गर्ने निर्णय सरकारले गरेको छ।

नेपाल कृषि तथा वन सेवा सामूहीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा डा दीपक कुमार खराललाई पनि बढुवा गरिएको छ। त्यस्तै, सरकारले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा प्रमुख कन्सल्टट्यान्ट अफ टेटीसियन गाइनोकोलोजिष्ट डा संगीता कौसल मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ।

सञ्चारमन्त्री कार्कीका अनुसार हेजिङ नियमावली २०७८ र वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिक २०७९ स्वीकृत गर्ने समेत निर्णय भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell