
काठमाडौं : असार १ तथा त्यसपछि आएको बाढीका कारण क्षति पुगेका बस्ती स्थानान्तरणको काम सुरु भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकामा याङ्ग्री लार्के खोलामा आएको बाढीबाट प्रभावित भएकाको स्थानान्तरणको प्रक्रिया सुरु भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाले विशेषगरी याङ्ग्री, सुनचौर, माइखर्क, भाङ्च्युङ र तिपेनीमा स्थायी बसोबास गर्ने बस्तीका बाढीपीडितलाई यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुनःनिर्माण प्राधिकरणमा पहल गरेको थियो।
भौगर्भिक अध्ययनबाट १६९ घरपरिवारलाई स्थानान्तरणका लागि लाभग्राही कायम गरिएको गाउँपालिकाले जनाएको छ। जसमा पुनःनिर्माणका लागि १३ र प्रबलीकरण अर्थात मर्मतका लागि दुई गरी जम्मा १८४ जना लाभग्राही कायम गरिएको अध्यक्ष लामाले जानकारी दिए। बाढी प्रभावितले जग्गाको व्यवस्थापन गर्न सकेमा यही महिनाभित्र पुनःनिर्माणका लागि सम्झौता गरी प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ।