
काठमाडौं : चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।
कालिका-८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइतेमध्ये ५ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य ९ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ। बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ।