.jpg)
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बैठक बस्नेछ।
बुधवार १ बजे बस्ने तय भएको बैठक स्थगित भएको थियो। माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभाको बैठकमा व्यस्त भएकाले कमिटी बैठक स्थगित गरिएको जनाइएको थियो।
आइतवारबाट बैठक सुरु भएकोमा सोमवार सहभागीले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि प्रश्न गरेका थिए। माओवादी केन्द्रमा पदाधिकारी चयनको विषय पेचिलो बनेपछि मंगलवार बैठक रोकेर प्रचण्डले खुमलटारमै छलफल थालेका थिए।
मंगलवार रातिदेखि नै खुमलटारमा महासचिवका बारेमा नेताहरुबिच छलफल भएको माओवादी निकट स्रोतले जनाएको छ। बुधवार बिहान पनि पदाधिकारी चयनबारे छलफल भएको थियो। तर, पदाधिकारीको बारे टुंगो लाग्न सकेन।
आज पनि पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन्। माओवादीमा महासचिवका लागि अहिले सबैभन्दा बलियो दाबेदारका रुपमा पछिल्लो समय हरिबोल गजुरेल र शक्ति बस्नेतको चर्चामा छन्।
यस्तै, त्यतिबेला देखि नै माओवादीका नेता पम्फा भुसाल र देव गुरुङ पनि महासचिवको दौडमा छन्। त्यसो त प्रचण्डले नेता कृष्णबहादुर महारासँग पनि महासचिव बन्न प्रस्ताव गरेको बताइन्छ।
महाधिवेशन सकिएको ६ महिनासम्म पनि माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। अध्यक्ष प्रचण्ड पहिलो केन्द्रीय कमिटीको बैठकबाट सर्वमसम्मत चयन भएका थिए। त्यसबेला नै महासचिवलाई लिएर विवाद भएको थियो। जनार्दन शर्मा र वर्षमान पुनले महासचिवमा दाबी गरेका थिए। पुन महाधिवेशनको समय चीनमा थिए। दुवैजना पछि नहटेपछि पदाधिकारी चयन बिना नै महाधिवेशन सकिएको थियो।
माओवादी केन्द्रको केन्द्रीय कार्यालयको मंगलवारको बैठकले पदाधिकारी तथा कमिटीका सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै दिएको थियो। प्रचण्डले बुधवारको बैठकमा पदाधिकारी,स्थायी कमिटी तथा पोलिटब्यूरो सदस्यको नाम प्रस्तुत गर्ने नेताहरुले बताएका थिए। तर, बुधवारको बैठक स्थगित भएपछि आज प्रचण्डले नाम घोषण गर्न सक्ने बताइएको छ।