PahiloPost

Jun 24, 2025 | १० असार २०८२

काठमाडौं उपत्यकामा कुन दिन कतिजनामा देखियो हैजा, कोरोनाको सक्रिय संक्रमित कति?



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा कुन दिन कतिजनामा देखियो हैजा, कोरोनाको सक्रिय संक्रमित कति?

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा फैलिने त्रास बढ्दै जाँदा कोरोना भाइरस संक्रमितको संख्यामा पनि वृद्धि भएको छ। असार २१ गतेसम्म उपत्यकामा २१ जनामा हैजा पुष्टि भइसकेको छ। यी मध्ये अस्पतालमा पाँचजनाको उपचार भइरहेको छ।

असार २ गते पहिलोपटक बागबजारको एकै परिवारका दुईजनामा हैजा देखिएको थियो। असार ३ गते १ जना, असार ५ गते २ जना,  असार ६ र ७ गते थप १-१ जनामा हैजा पुष्टि भएको थियो। यस्तै, असार ९ गते ३ जनामा, असार १० गते १ जनामा, असार १४ गते २ जना, असार १६ गते ३ जना, असार २० गते २ जना र असार २१ गते थप २ जनामा हैजा देखिएको हो।

हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहोर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनु पनि आग्रह गरिएको छ।

यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा भन्केको खानेकुरा नखान समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ। झापापखाला लागे झोलिलो खानेकुरा खान पनि आग्रह गरिएको छ।

कोरोना संक्रमित बढ्दै

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या पनि उपत्यकामा बढ्दो छ। असार २१ र २२ गते १०० जनाभन्दा बढीमा कोरोना देखिएको छ। बुधवार ११३ जना संक्रमित थपिएपछि देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४७१ पुगेको छ। बुधवार संक्रमण देखिएकामा ३८ जना काठमाडौं र ९ जना ललितपुरका हुन्।

हाल काठमाडौंमा २४७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यस्तै, ललितपुरमा ३९ जना र भक्तपुरमा ९ जना गरि उपत्यकामा कूल २९५ सक्रिय कोरोना संक्रमित छन्। यो कूल संक्रमितको  करिब ६३ प्रतिशत हो।

उपत्यकामा हैजासँगै कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन्। पछिल्लो समय मास्क लगाउर हिँड्ने कम भएको भन्दै उनीहरुले मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्।

भारतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। अहिले भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च रहेको छ। त्यसैले सीमा नाका र आवगमनमा पनि स्वास्थ्य सतर्कता अपनाउन जोड दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell