PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड



पहिलोपोस्ट

हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विकृतिबारे बोल्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दावी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएका हुन्।

संविधान बनाउने बेलामा आफूहरुले धेरै पर गएर सम्झौता गर्नुपर्ने बाध्यता आइलागेको स्मरण गर्दै उनले सम्झौता गरेर बनाएको संविधान भएकाले त्यसमा अप्ठेरो मान्नु नपर्ने भनाइ राखे।

उनले भने, ‘राजनीतिमा केही विकृति छन्। विकृतिबारे बोल्न सक्ने पार्टी माओवादी केन्द्र मात्रै हो। संविधान बनाउने बेलामा हामीले धेरै पर गएर सम्झौता गर्नुपर्ने बाध्यता आइलाग्यो। कम्प्रमाइज गरेर बनाएको संविधान हो त्यसमा अप्ठेरो मान्नु पर्दैन।’ पार्टी अब छिट्टै विशेष महाधिवेशनमा जाने पनि उनले बताए। 

त्यस्तै, उनले आगामी संघीय तथा प्रदेशको निर्वाचनको सन्दर्भमा प्रचण्डले निर्वाचन प्रणालीलाई संविधान उन्मुख बनाउनु पर्ने बताए।

‘प्रदेश र प्रतिनिधिसभाको चुनाव अघि ठूलो आन्दोलन गर्न सकिँदैन। बहस ब्यापक रुपमा बुझाउन पर्‍यो, हिजो पनि फरक हौँ, हामी आज पनि फरक हौँ। निर्वाचन पनि जित्ने र वैचारिक आन्दोलन गर्ने। हामी एउटा भिजन र मिसनमा छौँ। आफैँ हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो। त्यसका लागि नयाँ समाजवादी आन्दोलन गर्न पर्छ।’

उनले अगाडि भने, ‘हामी अलिकति अज्ञानी भएका छौँ। हामीलाई आफ्नै चिन्ताले बढी ग्रस्त बनाएको छ। पहिला-पहिला हामी पढ्थ्यौँ। अहिले पढ्दैनौँ।’

वित्तीयवादी सोचले पार्टीभित्र उदण्डवाद फैलिएको उनको भनाइ थियो।

माओवादी केन्द्रको आजको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राजधानीको प्रज्ञा प्रतिष्ठानमा बैठक सुरु भएको हो।

आइतवार सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सोमवार सहभागीहरुले धारणा राखेका थिए। मंगलवार र बुधवार बैठक बस्न सकेन।

मा‌ओवादीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो पूर्णता दिने तयारी गरेको छ। केन्द्रीय कार्यालयको बैठकले पदाधिकारी चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र संसदीय छानबिन समिति बन्ने भएपछि बुधवार माओ‌वादीले बैठक स्थगित गरेको थियो।

पदाधिकारीका लागि विभिन्न नेताहरुको नाम चर्चामा आएको छ। शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि उनी महासचिव हुनसक्ने माओवादी नेताहरु बताउँछन्।

अर्का नेता वर्षमान पुनलाई पनि महासचिवका लागि बलियो दाबेदारका रुपमा लिइएको छ। उनीहरुबिच एकले अर्कोलाई अस्वीकार गर्ने स्थितिमा अर्को तेस्रो नेतालाई महासचिव घोषणा गर्न सक्ने सम्भावना पनि छ।

हरिबोल गजुरेल, शक्ति बस्नेत, देव गरुङ र पम्फा भुसालको नाम पनि चर्चामा छ। आजको बैठकमा पदाधिकारी चयनका लागि गृहकार्य भइरहेको माओवादी केन्द्रका नेता गजुरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell