PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर



पहिलोपोस्ट

बुढीगंगा नगरपालिकाको मतदानमा फेरि विवाद, झडप भएपछि प्रहरीले गर्‍यो हवाई फायर
फोटोः योगेन्द्र रावल

कैलाली: बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको विवादपछि रोकिएको बाजुराको बुढीगंगा नगरपालिकाको आज भएको निर्वाचनमा पनि विवाद भएको छ।

बुढीगंगा नगरपालिका ९ र १० मा विवाद भएको हो। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच तनावको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।  झडपमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै वडा नम्बर १० को सिगाड मतदान केन्द्रमा पनि मतदान गर्ने विषयमा प्रहरी र मतदाताबिच सामान्य विवाद भएको छ। बुढीगंगाको नगर प्रमुख पदक लागि नेपाली काँग्रेसका रङ्ग खाती र एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन्।

गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो। दुवै पार्टीले एकअर्कालाई बुथ कब्जा गरि मतदानमा धाँधली गरेको आरोप लगाएका थिए।

बूढीगंगाको प्रमुखमा नेपाली कांग्रेसबाट रंग खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। १० वटा मतदानस्थल र ११ वठा मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell