
काठमाडौं : पछिल्ला दिनहरुमा कोभिड-१९ को संक्रमण दर बढ्दै गएको छ। बुधवार मात्र सरदर २४ वटा नमुना परीक्षण गर्दा १ नमुनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। बुधवार दुई हजार ७२४ नमुना परीक्षण गर्दा ११३ नमुनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जुन संक्रमणदर ४.१५ प्रतिशत हुन आउँछ।
दुई साता अगाडि संक्रमणदर १.९६ प्रतिशत थियो। असार ९ गते दुई हजार ४९४ नमुना परीक्षण गर्दा ४९ नमुना संक्रमित पाइएका थिए।
असार १ गते तीन हजार ९०५ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको थियो। तीन हजार ९०५ नमुना परीक्षण गर्दा ०.६४ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको थियो। यसबिच यो संक्रमण दर ६.४ गुणाले बढेर बढेर ४.१५ प्रतिशत पुगेको छ।
असार १ गते सक्रिय संक्रमितको संख्या ९७ थियो। यो संख्या करिब ५ गुणाले वृद्धि भई असार २२ गतेसम्म आइपुग्दा ४७१ पुगेको छ। जुन असार १ को सक्रिय संक्रमितको ४८५ प्रतिशत हो। संक्रमण दर १ प्रतिशत भन्दा कम रहेको मा तीन साता पुग्दा नपुग्दा ४ प्रतिशत नाघिसकेको छ।
पछिल्लो समय भारतमा कोभिड संक्रमण उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार विभिन्न नाका हुँदै भारतबाट आएकामध्ये १९ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार गत मंगलबार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा २ वटामा ओमिक्रोनको ‘बीए.५’ सबभेरिएन्ट पुष्टि भएको छ। त्यस्तै २८ वटा नमुनामा ओमिक्रोनको बीए.२’ सबभेरिएन्ट र २ वटा नमुनामा ओमिक्रोनको ‘बीए.१’ सबभेरिएन्ट पुष्टि भएको छ। ओमिक्रोनको अन्य सबभेरिएन्टभन्दा ‘बीए.५’ सबभेरिएन्ट बढी संक्रामक रहेको छ। ‘बीए.५’ सबभेरिएन्ट पुष्टि भएका दुईमध्ये एउटा नमुना केन्द्रीय डाइग्नोस्टिक प्रयोगशाला र अर्को नमुना बेलहिया नाकामा संकलित नमुना हो।
बुधवार संक्रमित पुष्टि भएका मध्ये काठमाडौं जिल्लामा ३८, ललितपुरमा ९ जना पुष्टि भएको छ। बुधवार पुष्टि भएका संक्रमित मध्ये उपत्यकामा मात्र ४१.६ प्रतिशत हो। त्यस्तै सीमावर्ती क्षेत्र रुपन्देहीमा ४ बाँकेमा ३, मधेस प्रदेशका चार जिल्लामा ४ जनामा संक्रमण पुष्टि भएको छ।