PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु



पहिलोपोस्ट

बुढीगंगामा एमाले र गठबन्धनका कार्यकर्ताबिच झडपपछि रोकिएको मतदान फेरि सुरु

काठमाडौं : बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचन रद्द भएपछि आज भएको पुनःनिर्वाचनका क्रममा पनि विवाद हुँदा रोकिएको मतदान सुरु भएको छ।

त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबिच झडप भएको थियो। मतदानका क्रममा वडा नं ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोजेको भन्दै झडप भएको बताइएको छ। झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन्। गठबन्धनका तर्फवाट उम्मेदवार बनेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन्। मतदान केन्दमा विवाद भएपछि करिब १५ मिनेट मतदान स्थगित गरिएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

‘केहीबेर विवाद भयो। त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ उनले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो। अब पुनः मतदान सुरु भएको छ।’

गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो। दुवै पार्टीले एकअर्कालाई बुथ कब्जा गरि मतदानमा धाँधली गरेको आरोप लगाएका थिए।

बूढीगंगाको प्रमुखमा नेपाली कांग्रेसबाट रंग खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्। १० वटा मतदानस्थल र ११ वठा मतदान केन्द्रमा मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell