PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबिच नेपाल-भारत सम्बन्ध र सहकार्यबारे कुराकानी



पहिलोपोस्ट

उपराष्ट्रपति पुन र भारतीय राजदूत श्रीवास्तवबिच नेपाल-भारत सम्बन्ध र सहकार्यबारे कुराकानी
फोटो : उपराष्ट्रपतिको निजी सचिवालय।

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। बिहीवार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताए। दुई देशबिच धार्मिक, साँस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए।

उपराष्ट्रपति पुनले नेपाल भारत र चीनको बिचमा रहेको बताउँदै नेपाल, भारत र चीनबिच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताए। त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उनले बताए।

भेटमा उपराष्ट्रपति पुनले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेको बताए। नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको उनले बताए। उनले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताए।

भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको बताए। उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताए। उनले आफ्नो कार्यकालमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell