बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि कन्जर्भेटिभ पार्टीमा नयाँ प्रधानमन्त्रीको खोजी तीब्र भएको छ। आफू निकट एक नेताको ‘यौन दुर्व्यवहार’ सम्बन्धी घटना थाहा पाउँदा पनि उनलाई नियुक्त गरेको खुलेपछि बोरिसको आलोचना भएको थियो। बोरिससँग विद्रोह गर्दै ४० मन्त्रीले राजीनामा दिएका थिए। 'सेक्स स्क्याण्डल'मा मुछिएपछि पद छाड्नुपर्ने दबाब बढ्दै जाँदा बोरिसले प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन्।
कन्जर्भेटिभ नेता पनि रहेका बोरिसको राजीनापछि नयाँ ‘टोरी लिडर’ का लागि अब निर्वाचन हुनेछ। प्रधानमन्त्री पदका लागि १२ जनाभन्दा बढी व्यक्तिको नाम हाल चर्चामा छ। बोरिसको आलोचना गर्दै राजीनामा दिएका दुई पूर्व मन्त्रीका साथै अन्तिमसम्म बोरिसको साथमा खडा भएका मन्त्रीहरु पनि प्रधानमन्त्री बन्ने दौडमा छन्। यही मंगलवार बेलायतका अर्थ मन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जावेदले राजीनामा दिएका थिए। त्यसपछि अन्य मन्त्रीहरुले पनि राजीनामा दिएका थिए। यिनै सुनक र साजिद अहिले प्रधानमन्त्रीका दाबेदार छन्।
यस्तै, बोरिस सरकारमा विदेश मन्त्रालयको कमान्ड सम्हालेकी लिच ट्रस, सुनकले राजीनामा दिएपछि मन्त्री नियुक्त भएका नदिम जहावी, रक्षा मन्त्री बेन वालेस, गृह मन्त्री प्रिति पटेल, यातायात मन्त्री ग्रान्त साप्स, राज्य मन्त्री पेन्नी मोरडउन्टको नाम पनि चर्चामा छ। साथै, सांसदहरु टम टुगेन्डाट,स्टिभ बेकसका साथ महान्यायाधीवक्ता सुल्ला ब्रेभरम्यान पनि प्रधानमन्त्रीका आकांक्षी छन्।
प्रधानमन्त्रीका लागि धेरैजनाको नाम चर्चामा रहे पनि रक्षा मन्त्री बेन वालेसको सम्भावना बढी रहेको स्थानीय मिडियाले दाबी गरेको छ। ७१६ जना कन्जर्भेटिभ नेताबिच गराइएको सर्वेक्षणबाट बेन बोरिसको ‘उत्ताराधिकारी’ बन्न सक्ने प्रक्षेपण गरिएको हो। १३ प्रतिशत बेनको पक्षमा देखिँदा १२ प्रतिशत पेन्नी मोरडउन्ट र १० ऋषि सुनक पक्षमा देखिएका थिए। यस्तै, ८ प्रतिशतले लिच ट्रस, ७-७ प्रतिशतले माइकल गोभ र डोमिनिक राब, ६ प्रतिशतले टम टुगेन्डाट, ५-५ प्रतिशतले जेरेमी हन्ट र नदिम जहावी प्रधानमन्त्री बन्नुपर्ने राय राखेका थिए। साजिद जाविदको पक्षमा ४ प्रतिशतले मत दिए भने प्रिति पटेललाई ३ प्रतिशत र स्टिभ बारक्लालाई मात्र १ प्रतिशतले मत दिए। सर्वेक्षणमा १२ प्रतिशतले माथिका कसैलाई पनि मत नदिने भनेका थिए भने ९ प्रतिशतले अहिले थाहा नभएको बताएका थिए।
वर्तमान कानुन अनुसार प्रधानमन्त्री पदको आकांक्षीका रुपमा लड्न प्रत्येकलाई ८ जना कन्जर्भेटिभ नेताको सहयोग चाहिन्छ। दुई भन्दा बढी उम्मेदवार भए दुईजना उम्मेदवारको टंगो नभएसम्म टोरी सांसदहरुले मतदान गर्नेछन्। दुईजना उम्मेदवार तय भएछि ‘टोरी लिडर’ छान्न अर्को निर्वाचन हुन्छ।
के हो 'सेक्स स्क्याण्डल'?
‘सेक्स स्क्याण्डल’ सँग बोरिस सिधै जुधिएका छैनन्। तर यसै विषयलाई लिएर उनले सत्ता छाड्नु पर्यो।
३० जुनमा बेलायतको समाचारपत्र ‘द सन’ले सत्तारुढ कन्जर्भेटिभ पार्टीका सांसद क्रिस पिन्चरले एक निजी क्लबमा दुईजना पुरुषलाई आपत्तिजनक रुपमा छोएको भन्दै रिपोर्ट प्रकाशन गरेको थियो। बोरिसले यही वर्षको फेब्रुअरीमा पिचरलाई पार्टीको ‘डेप्युटी चिफ ह्वीप’ नियुक्त गरेका थिए। यो वर्षमा मात्रै पिन्चरसँग सम्बन्धित ६ अन्य मामिला पनि सार्वजनिक भएका थिए। त्यसबेला पार्टीले पिन्चरलाई निस्कासित गरेको थियो।
जुन १ मा बेलायत सरकारले पिन्चरको नियुक्ति अघि बोरिसलाई उनीमाथि लगाइएको यौन दुर्व्यवहारको आरोपबाट थाहा नभएको स्पष्टीकरण दिएको थियो। तर त्यसपछि पनि उनको सरकारमा रहेका मन्त्रीहरुले यही मुद्दालाई उठाइरहेका थिए। तर, जुन ४ मा प्रधानमन्त्रीका प्रवक्ताले बोरिसलाई आरोपहरुको बारेमा जानकारी भएको बताएका थिए। आरोपहरु प्रमाणित नभएकोले पिन्चरको नियुक्तिलाई नरोकिएको प्रवक्ताले बताएका थिए। सन् २०१९ देखि २०२० मा नै पिन्चरविरुद्ध लागेको आरोपका बारेमा औपचारिक रुपमा बोरिसलाई जानकारी दिइएको थियो। त्यस बेला उनी विदेश मन्त्री थिए। त्यसबेला सो आरोप लागेपछि अनुशानात्ममक कारवाही पनि भएको थियो। यसले दुर्व्यवहार पुष्टि हुने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।
यौन दुर्व्यवहारको आरोपबारे थाहा हुँदाहुँदै पनि उनले पिन्चरलाई नियुक्ती दिँदा उनले कन्जर्भेटिभ नेताबाट साथ नपाएका हुन्। यस्तै, कोरोना भाइरस महामारीको समयमा पार्टी गरेको विषयमा पनि पार्टीमा उनी विवादित बनेका थिए। त्यसबेला पनि उनलाई प्रधानमन्त्रीबाट हट्न दबाब दिइएको थियो।
बोरिसले भने पिन्चरको नियुक्तिलाई एक गल्ती भन्दै पीडितसँग माफी समेत मागेका छन्। उनले पिन्चरमाथि आफूले कारवाही गर्नुपर्ने समेत बताएका छन्।
‘म कहाँ एउटा उजुरी आएको थियो। तर त्यो धेरै पुरानो थियो।… तर यो बहाना होइन, मैले उनीमाथि कारवाही गर्नु पर्थ्यो,’ बोरिसले बीबीसीसँग भनेका छन्।