
काठमाडौं : वाग्मती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ। बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ। प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेशसभाको दशौँ अधिवेशनको २४औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो। गत जेठ १३ गतदेखि सुरु भएको दशौँ अधिवेशनअन्तर्गत असार १ गते प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको थियो।
सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो।