PahiloPost

Jun 24, 2025 | १० असार २०८२

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य अन्तिम चरणमा



पहिलोपोस्ट

हेटौंडामा दुग्ध पाउडर प्लान्टको निर्माण कार्य अन्तिम चरणमा

हेटौंडा : वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार रुपैयाँको सहयोगमा हेटौँडा उपमहानगरपालिका-१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण क्षेत्रमा मेसिनहरु जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ।

प्लान्टले वाग्मती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउनका लागि सहज हुने प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटाले जानकारी दिए। उनले हाल मेसिनबाट पाउडर दुध र घिउ निक्लनका लागि दुई महिनामा सबै काम पूरा हुने समेत बताए।

उद्योग स्थापना निर्माण सम्पन्न भएर रोजगारी सिर्जना गरेसँगै किसानले धेरै गाई, भैँसीपालन गरेर रोजगारी पनि सिर्जना हुने उनले बताए। सो प्लान्टबाट वाग्मती प्रदेशसहित मधेश प्रदेशको बारा, पर्सा, रौतहट र वाग्मती प्रदेशको चितवन र मकवानपुरका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने बोर्डको अनुमान छ। दैनिक ६० हजार लिटर दूध खरीद गरि दैनिक पाँच मेट्रिकटन धुलो दूधको उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्ड उपाध्यक्ष सापकोटाले बताए। पाउडर प्लान्टमा महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गर्न सकिनेछ।

प्लान्टमा दैनिक ६० हजार लिटर दुधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ। चालू आर्थिक वर्ष २०७७-७८ वर्षको पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौँ इजी इन्फा प्रालीले एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम थाले पनि कोरोना भाइरस महामारीका कारण मेसिनहरु विदेशबाट ल्याउन समस्या भएपछि तीन महिना म्याद थपिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सुचना अधिकारी अनुप अधिकारी जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell