काठमाडौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले वन तथा क्रसर माफियालाई तह लगाउने चेतावनी दिएका छन्। उनले चुरे क्षेत्रमा संचालनमा रहेको अवैध ढुङ्गा क्रसर तथा राष्ट्रिय वन क्षेत्रबाट काठको चोरी तस्करी गर्ने माफियाहरुलाई तह लगाउने चेतावनी दिएका हुन्।
उनले माफियाहरुको आन्तरिक रुपमा तथ्यांक संकलन गर्ने काम भइरहेको र वास्तविक तथ्यांक आइसकेपछि आफै फिल्डमा पुगेर त्यस्ता माफियाहरुलाई कानुनको दायरामा ल्याउने बताए। साथै, वन्यजन्तुको चोरी सिकारी गर्ने माफियाहरुलाई पनि नछोडने उनले बताए।
'मेरो पहिलो जिम्मेवारी राष्ट्रिय वन, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नु हो। त्यसको लागि मैले काम अघि बढाइसकेको छु,'उनले भने,'अवैध क्रसरलाई चलेको ठाउँबाट उठाउँछु। काठ तथा वन्यजन्तुको चोरी सिकारी रोक्न पनि रणनीति बनाउँदैछु।'
यादवले चुरे क्षेत्र संरक्षणको लागि आवश्यक पर्ने ऐन बनाउन पनि सरोकारवाला मन्त्रीबिच सैद्धान्तिक सहमति गराउन पहल भइरहेको पनि बताए। साथै वन क्षेत्रमा रहेको अवैध अतिक्रमण हटाउनु पनि आफ्नो मुख्य एजेन्डा रहने उनले सुनाए।
'मलाई थाहा छ, कम समयको लागि जिम्मेवारी पाएको छु। तर, कम समयमा कसरी राम्रो काम गर्न सक्छु त्यसैमा केन्द्रित छु,'उनले भने।
निजगढ विमानस्थल र फास्टट्रयाकको निर्माणमा पनि सरकारको अवश्यकता अनुसार सहयोग गरि ती परियोजना पूरा गराउन आफुले सहयोग गर्ने उनले बताए। उनले आफनो कार्यकालमा चुरेको ढुङ्गा भारतमा निकासी गर्ने व्यवस्था बारे अध्ययन गर्ने र राष्ट्रहित विपरित यदि उक्त व्यवस्था रहेको पाइए सो प्रावधान नै संशोधन गर्ने दाबी समेत गरे।